Saturday, July 27, 2024

सरकारी लगानीको भलिबल प्रतियोगितामा प्रवेश शुल्क लगाए कार्यक्रम बहिष्कार गर्ने स्थानीयको चेतावनी

प्रकाशित:

महेन्द्रनगर । आज देखि महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन हुने तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भबिलल प्रतियोगितामा आयोजकले प्रवेश शुल्क निर्धारण गरेको भन्दै बहिष्कारका आवाजहरु उठ्न थालेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सरकारी लगानीमा सञ्चालन हुन गइरहेको उक्त राष्ट्रिय भलिवल प्रतियोगितामा दर्शकका लागि शुल्क निर्धारण गरिएपछि कञ्चनपुरका स्थानीय आक्रोशित भएका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद्को ८० लाख लागत खर्चमा आज देखि सुरु हुने राष्ट्रिय भलिवल प्रतियोगितामा विद्यार्थीका लागि २० र सर्वसाधारणका लागि ५० रुपैँया प्रवेश शुल्क तोकिए पछि उक्त प्रतियोगिता नै बहिष्कार गर्न पर्ने भन्दै सर्वत्र विरोध हुन थालेको छ ।

सरकारी लगानीमा हुने भलिवल हेर्न शुल्क तिर्नु पर्ने र उक्त सरकारी पैसाले स्थानीय बजारीकरणमा समेत नपुग्ने पक्ष देखिएपछि हिजो देखि सामाजिक सञ्जालहरु विरोधका आवाजले रङ्गीएका छन् ।

महेन्द्रनगरमा सरकारी लगानीमा राष्ट्रिय गौरवकै भलिवल प्रतियोगिता हुनु अति नै राम्रो भएको तर उक्त सरकारी लगानीबाट स्थानीय श्रमिक तथा बजारमा पैसा प्रवाह नहुनु दुःखद भएको पत्रकार अम्बा तिवारीले आयोजकले गरेको पत्रकार सम्मेलनमै भने ।

‘पैसा चलायमान हुनु पर्ने हो । मञ्च व्यवस्थापन लगायतका काममा स्थानीय श्रमिकहरुले काम पाएको भए केहि राम्रो खाने कुरा त खाने थिएहोला, एकदुई दिन रोजगार पाउथे होला ।’ पत्रकार तिवारीले आयोजकलाई प्रश्न गर्दै भने, ‘तपाईहरुले त सेना ल्याएर सबै ब्याण्ड गरिदिनु भयो ? रोजगार दिनु भयो ? बजारमा पैसा ल्याउनु भयो ?’

उक्त सरकारी बजेटको कार्यक्रमले स्थानीय बजारमा पैसा समेत नआएको अर्थात आर्थिक ईको सिस्टम नै नचलेको, समान्य रुपमा स्थानीय श्रमिकलाई समेत रोजगार नदिएर सेनालाई काम दिएको प्रति पत्रकार तिवारीले आयोजकलाई र्याख्र्याख्ती पारेका हुन् ।

त्यस्तै पत्रकार मोहन बिष्टले यो राष्ट्रिय भलिवल प्रतियोगिता महेन्द्रनगरमा हुनु राम्रो पक्ष भएको तर, सरकारी लगानीको प्रतियोगितामा प्रवेश शुल्क राख्नु भनेको हरियो घास देखाएर खसी काट्नु जस्तै भएको टिप्पणी गरेका छन् ।

पत्रकार सम्मेलनमै महासंघका अध्यक्ष माधव सिंह धामीले स्थानीय पत्रकार, समाजसेवी बिद्धिजीवीहरु संग ‘कोर्डिनेशन’ नै नगर्ने, पत्रकार सम्मेलन र समाचार सम्प्रेषण गर्न महेन्द्रनगरका पत्रकार चाहिने र कार्यक्रम सञ्चालन भइसकेपछि बाहिरबाट पत्रकार ‘हायर’ गरेर ल्याउने आयोजकको काम प्रति प्रश्न गरेका छन् ।

आयोजक शुदूरपश्चिम खेलकुद परिषद् र जिल्ला भलिवल संघ स्थानीय बजार एवं मिडिया मैत्री बन्न नसकेको पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष भवानी भट्टले बताए ।

प्रवेश शुल्कको सम्बन्धमा आयोजकले विद्यार्थी संघ–संगठनहरु संग सहमति भइसकेको बताएपनि जिल्लाका विद्यार्थी संघ–संगठनहरुले सहमति नभएको बताउदै आएका छन् ।

प्रवेश शुल्क हटाउनु पर्ने माग राख्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले प्रतियोगिता हुँने स्थल महेन्द्रनगरको खुल्ला मञ्चको मूलगेटमै कालो ब्यानर राखेको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार