महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अस्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन्।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
अठारमहिने कृषि जेटीए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गरिरहेका छन्। घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अस्ट्रेलिया जान आवेदन दिए।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो’, उनले भने, ‘त्यही भएर कृषि जेटीए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागेँ।’रानाले वर्षमा २० लाखदेखि २७ लाखसम्मको च्याउ बिक्री गर्ने गरेको बताए। सोबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर १० लाखजति रकम बचत हुने गरेको जानकारी दिए। च्याउ खेतीका लागि उनले ३० लाखभन्दा बढी लगानी गरेका छन्।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
उनी दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्कने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त छन्। च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको १२ लाख अनुदान रकमबाट उनले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गरेका छन्।प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गरिरहेका छन्। हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसोबीचको मौसममा पीँकी जातको च्याउ रानाले उत्पादन गरिरहेका छन्।
‘यस वर्षको साउनदेखि हालसम्म पिँकी चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ’, रानाले भने, ‘पिँकी चार सय प्रतिकिलोका दरले बिक्री भयो, कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो एक सय ३० का दरले बिक्री भएको छ।’उनका अनुसार टनेलमा अझै ६० देखि एक सय क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा छ। स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन। कन्या च्याउजस्तै पिँकी र मिल्की च्याउको उत्पादन बढाउन कार्य अगाडि बढाइएको रानाले बताए।
दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु’, उनले भने, ‘उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ।’ नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटरजडित ‘फोगर सिस्टम’ खरिद गरेका छन्।‘पहिला च्याउ उत्पादन गर्न बिउसहित राखिएका परालका पोकामा हातैले ट्याङ्कीबाट पानी छर्कने गरेका थियौँ’, उनले भने, ‘एक जना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युत्को स्विच थिच्नेबित्तिकै स्वचालित रुपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्छ।’
सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उनको भनाइ छ। रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाइ देखेर दङ्ग छन्। परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गरिरहेका छन्। भविष्यमा च्याउको बीउ उत्पादन गर्न ‘ल्याब’ स्थापना गर्ने सोच पनि उनले राखेका छन्। उनले हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गरिरहेका छन्।
उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गरिरहेको उनले बताए। आठ जनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाए।नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर राना नगरपालिका क्षेत्रमै च्याउ खेती गरेर बढी कमाइ गर्ने किसानका रूपमा परिचित रहेको बताउँछन्। व्यावसायिक च्याउ खेतीमै लागेर कार्य गरेको देखेर प्रोत्साहन गर्न गत आवमा च्याउ पकेट कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराइएको उनी बताउँछन्।
रानाले उत्पादन गरेको च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको उनले बताए। व्यावसायिक च्याउ खेती गर्न इच्छुक किसानलाई नगरपालिकाबाट प्रत्येक वर्ष बीउ र प्रविधिमा सहयोग हुँदै आएको उनले जानकारी दिए।वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउँछन्। ‘च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाएको छैन, वडालाई चिनाएका छन्’, उनले भने, ‘राना नगपालिकाकै गर्व गर्ने पात्रका रूपमा छन्।’