महेन्द्रनगर । माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो । उक्त पर्वलाई धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्वले धनी नेपाल र नेपालीहरूको एक महत्वपूर्ण पर्वका रुपमा मान्ने चलन रहेको छ् । माघे संक्रान्तिको दिन बिहानै उठेर नुहाइध्वाइ गरी कागलाई बोलाइ रोटी दिने चलन समेत रहेको छ् । ज्योतिषीय दृष्टिकोणमा माघ महिनाको १ गते अर्थात् सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हुँदा यो दिनलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिएको हो ।
सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता समेत रहेको छ् । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख रहेको छ् ।
त्यसैगरी पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायहरूले उक्त पर्वलाई धेरै मात्रामा मनाउँने गर्दछन् ।थारू जातिहरूले उक्त पर्वलाई नयाँ वर्षको रुपले मनाउँदै आइरहेका छन् । मगर समुदायले मुख्य रुपमा धुमधामका साथ् मनाउँने उक्त पर्वलाई माघ्या खपनि समेत भन्ने गरिन्छ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर र थारू लगायतका सबै जनजातीहरूले माघे संक्रान्तिलाई आआफ्नै परम्परा, रितिरिवाज अनुसार विशेष रुपले मनाउदै आइरहेका छन् ।
त्यसैगरी माघे संक्रान्तिको मुख्य विशेषता हो स्नान । यस दिन बिहानै उठेर पवित्र जलाशय गएर स्नान गर्ने चलन समेत रहेको छ् । स्नान गर्नका निमित्त नदि नाला, ताल तलैया, जलाशयको प्रयोग गर्नु भन्ने शास्त्रीय मान्यता समेत रहेको छ् । उक्त पर्व नेपाल भरका विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीहरूमा गएर स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइने गरिन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, राम्धी, तिलोत्तमा तथा सेतीवेणी लगायतका नदी र घाटमा स्नान, दान,श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।
त्यसैगरी उक्त पर्वको स्नान संगै दानको समेत उत्तिकै महत्त्व रहेको छ् । जस्तै : ‘माघे मासि महादेव यो दद्यात् घृतकम्बलम् स भुंकत्वा सकलान् भोगान् अन्ते मोक्षं च विन्दति ।’ मकर संक्रान्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास समेत रहँदै आएको मानिन्छ । मौसम अनुसार यो समय जाडो हुनाले यसलाई सामाजिक सद्भावको आधारमा समेत पुष्टि गरेको पाइन्छ । उक्त पर्वलाई शास्त्रीय मान्यताका रुपले समेत लिने गरेको पाइन्छ ।
त्यसैगरी अझै उक्त पर्वमा तिलको विशेष महत्व रहेको हुन्छ, जसले यो समयमा ६ प्रकार बाट तिलको उपयोग गर्ने गरिन्छ भने, त्यो ब्यक्ति कहिल्यै असफल हुँदैन भन्ने शास्त्रीय मान्यता समेत रहेको छ् । तिलले स्नान गर्नु, तिल हवन गर्नु, तिलको तेल घस्नु, पितृलाई तिल युक्त जल अर्पण गर्नु, तिल दान गर्नु र तिलयुक्त्त परिकार खुवाउनु खानु रहेको छ् । त्यसैगरी माघे संक्रान्तिबाट जाडो बाहुल्यता बिस्तारै घट्दै जाने गर्मी को ताप बढ्दै जाने गरिन्छ । उक्त पर्वलाई प्राकृतिक रूपले मात्र नभएर धार्मिक दृष्टिकोण बाट समेत महत्वपूर्ण दिने मान्ने गरिन्छ ।
यस दिन सूर्य दक्षिणायणबाट उत्तरायण हुने हुँदा दिनहरू लामा र रातहरू बिस्तारै छोटिदै जान्छन् । उत्तरायण सुरु भएपछि विभिन्न धार्मिक कार्यहरू सुरु हुन्छन् । विवाह, ब्रतबन्ध, वास्तु, व्रतप्रारम्भ र व्रतउद्यापन लगायत ठूलाठूला यज्ञयज्ञादि पनि यति बेला नै सम्पन्न हुने गरिन्छ । सूर्य उत्तरायण भएको बेला हुने मानिसको मृत्युलाई समेत उत्तम मानिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान समेत भन्ने गरिन्छ ।
त्यसैगरी हिजोआज माघे संक्रान्ति देश देखि विदेश सम्म पनि उक्त पर्वलाई मनाउने प्रचलन बढ्दै गएको छ् । खिचडी लगायत तिलका लड्डु, चाकु, तारुल र सेलरोटी जस्ता विभिन्न परिकारहरूको साथमा माघे संक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । सबैलाई माघे संक्रान्तिको धेरै धेरै शुभकामना ।