Saturday, July 27, 2024

कम्युनिष्ट किल्ला तोडेर चुनाव जितेका महेन्द्र कार्यकाल पूरा गर्न नपाउँदै अस्ताए !

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको बिहीबार विहान निधन भएको छ । ऐठपुरस्थित सन्त निरंकारी मण्डल नजिक महाकाली सिँचाई नहरको बाटोमा खडका मृत भेटिएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडा अध्यक्ष खड्काको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । भीमदत्त नरपालिकाले खड्काको निधनको खड्काको सतथ्यतत्य छानबिन गर्न प्रशासनसित माग गरेको छ ।

भीमदत्त नगर कार्यपालिकाको बिहीबार बसेको आकस्मिक बैठकले छानबिनको माग सहित आइतबार उनको निधनमा शोक विदा दिने निर्णय गरेको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले बिहीबार साँझ विज्ञप्ति प्रकाशित गरी खड्काको निधनले काँग्रेसले होनहार र प्रतिभावान युुवा नेता गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।

ऐठपुरका खड्का २०७९ बैशाख ३० को स्थानीय तह निर्वाचनबाट भीमदत्त नगरपालिका ६ को वडा अध्यक्ष निर्वाचित भएका हुन् । स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि जेठ ९ गते पद तथा गोपनियताको शपथ लिएका खड्का कार्यकाल पूरा नगरी सदाका लागि अस्ताएका छन् ।

स्थानीय तह निर्वाचनमा खड्का १ हजार ३ सय ५८ मत ल्याएर निर्वाचित भएका थिए । प्यालन सहित निर्वाचित भएर उनले कम्युनिष्ट किल्लामा पहिलो पटक काँग्रेसलाई जित दिलाएका हुन् । २०४९ का चुनावपछि उनी पहिलो पटक सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए ।

बहुदल पुनस्र्थापनपछि सबैका स्थानीय तह चुनाव २०७९ अघि नेकपा एमालेले जितेको थियो । एमालेले २०४९, २०५४ र २०७४ मा स्थानीय चुनाव जितेर भीनपा ६ लाई कम्युनिष्टको किल्ला बनाएको थियो । तीन पटक एमालेले जितेको किल्लामा खड्काले धावा बोलेर पहिलो पटक काँग्रेसलाई विजयी गराएका थिए ।

काँग्रेसमा विद्यार्थी राजनीतिबाट सक्रिय खड्काले २०७४ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा आकाँक्षा राखेका थिए । काँग्रेसले खड्कालाई टिकट नदिई उनलाई सदसयमा चुनाव लडाएको थियो ।

चुनावमा काँग्रेसको प्यालन पराजित भएको थियो । खड्का त्यति बेला काँग्रेसको भीमदत्त नगरपालिका ६ को वडा सभापति थिए । वडा सभापति अघि उनले वडाको सचिवको भूमिका निर्वाह गरेका थिए ।

काँग्रेसले वडा अध्यक्षको टिकट नदिएपछि उनी आफैं सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा होमिएका थिए । चुनावपछि उनले औपचारिक रुपमा चुनावमा हारजित हुने कुरा समान्य भएको बताउने गरेका थिए ।

पाँच वर्षपछि २०७९ को निर्वाचनमा काँग्रेसले खड्कालाई वडा अध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा पठाएको थियो । काँग्रेसका वडा सभापति प्रकाश चन्द सहित अध्यक्षका आकाँक्षी थिए । खड्काले अघिल्लो चुनाव सदस्यमा लडेकालाई उनलाई सहज रुपमा टिकट दिइएको थियो ।

खड्काले समान्य चुनावी प्रचार गरी चुनाव जितेका थिए । उनले मतदाताका घरदैलोमा गएर उनीहरुसंगै खाना खाएर चुनाव प्रचार गरेका थिए । चुनावका बेला कुराकानीमा उनले आफूले जाने टोलका मतदाताको घरमा खाना खाने गरेको बताएका थिए ।

चुनावका बेला पनि उनको दैनिक उम्मेदवारको भन्दा समान्य व्यक्तिको जस्तो देखिएको थियो । उनी साँझ विहान आफन्त, चिनजानका व्यक्तिहरुसित कुराकानी र छलफल भेटिने गरेका थिए ।

वडा अध्यक्ष खड्कालाई मिलनसार र राजनीतिक आग्रह पूर्वाग्रह नराख्ने नेताका रुपमा वडाका वासिन्दाले हेर्ने गरेका थिए । सबैसित मिलनसार स्वभावका उनी वडाका वासिन्दाको सल्लाह सुझाव लिएर कामकाज गर्दै आएका थिए ।

काँग्रेस राजनीतिसंगै खड्काले सामाजिक क्षेत्रमा पनि कामकाज गरेका थिए । शान्ति निर्माणकर्ता र मेलमिलापकर्ता भएर काम गरेका खड्कासित सामाजिक क्षेत्रको अनुभव थियो ।

अछाम पुख्र्यौलीका खड्काका बुवा लाल बहादुर खड्का पञ्चायतकालिन नेता हुन् । २०४६ मा बहुदल पुनस्र्थापना अघिसम्म सबै पञ्चायतकालिन चुनावमा उका बुवाले निरन्तर जित हात पारेका थिए ।

खड्का बुवाको राजनीति विरासत छाडेर काँग्रेसको राजनीतिमा होमिएका थिए । खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । उनका दुई सन्तानमध्ये जेठो उडिसामा इन्जिनियरिङ्ग र कान्छा काठमाडौंमा एमबीबीएस अध्ययनरत छन् ।

उनका सहोदर भाई विदेश छन् । वडा खड्काको निधनमा राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, नागरिक समाज सहित सबैले शोक व्यक्त गरेका छन् । (इविकल्प)

ताजा समाचार

सम्बन्धित समाचार