Saturday, July 27, 2024

ग्रिल उद्योग व्यवसायमा युवा

प्रकाशित:

महेन्द्रनगर । विदेशबाट स्वदेश फर्किएका कञ्चनपुरका एकजना युवा ग्रिल उद्योग व्यवसायीमा जुटेका छन् । बेलडाँडी गाँउपालिका-१ कञ्चनपुरका युवा मिन बहादुर शाह ८ वर्ष अघि दक्षिण कोरियाबाट रोजगारी गरी घर फर्किएका थिए । स्वदेश फर्किए लगत्तै उनले कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐठपुर महेन्द्रनगरमा प्रतिभा ग्रिल उद्योग खोलेर अहिले ग्रिल व्यवसायमा जुटेका छन् । वि.स. २०४७ सालमा उक्त शाहको परिवार पहाडको अछामबाट कञ्चनपुरको बेलडाँडीमा आएका थिए । त्यसैगरी पढाईकै शिलशिलामा २०५४ सालमा एसएलसी उर्तिण गरेका शाह आईएस्सी अध्ययनका लागि २०५५ सालतिर महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा भर्ना भए । गाउँमा बस्ने शाहको अठार विगाह जमिन थियो भने, त्यहीँ जमिनको आशले गर्दा शाह महेनद्रनगरमा डेरा गरी विज्ञान विषय लिएर अध्ययन गर्न थाले ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अध्ययन गर्दै गरेका शाहको २०५८ सालमा तत्तकालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा उनको उक्त जमिन सरकारले खोसेपछि शाहको पढाई समेत प्रभावित भयो । विज्ञान विषय पढेर ईन्जिनियर डाक्टर बन्ने सोच बेकेका शाहको सपना भने अधुरै रह्यो । त्यसैक्रममा शाहको गाँउतिर भएको खेत समेत सरकारले लगेपछि घर परिवारको अन्य बलियो आर्थिक अवस्था नभएका कारण उनका सामु भने चुनौती थपिँदै गयो । त्यसैगरी उक्त समयमै २०५८ सालतिरै तत्तकालिन माओवादीले थालेको जनयुद्धकै बेला सरकारले सुरक्षा निकाय तर्फ सशस्त्र प्रहरी बल नयाँ फौज संगठन स्थापना गरेको थियो । शाह पढाई छोडेर सशस्त्र प्रहरी तिर लागे । सशस्त्र प्रहरीमा भर्ना भएका शाहले राजधानी काठमाण्डौँ लगायतका क्षेत्रहरूमा काम गरे । त्यसैक्रममा उनले सशस्त्र प्रहरीमा काम गर्दागर्दै २०६८ सालमा दक्षिण कोरिया रोजगारीका लागि भाषा समेत उर्तिण गरे । भाषा उर्तिण गरेका शाह वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गए । दक्षिण कोरियामा उनले २०६८ सालदेखि २०७३ सालसम्म उद्योगमा काम गरेर स्वदेश फर्किए । त्यसैगरी स्वदेश फर्केर ९० दिनभित्र फेरी कोरिया जान पाउँने सुविधा भएतापनि उनले कोरियाको मासिक साढे ३ लाख रुपैयाँ कमाउने काम त्यागेर शाहले स्वदेशमै केही उद्यम गर्नुपर्छ भन्ने सोच बनाए ।

शाहले विदेशबाट फर्किएपछि आफ्नै देशमा बसेर कृषितर्फ काम गरौँला भन्ने सोच बनाएका थिए भने तर, उक्त सोच अनुरुप काम गर्न भने उनले सकेनन् । कोरियाबाट स्वदेश आएका शाहलाई उता कम्पनीले समेत ताकेता गरिरहेको थियो तर, शाह भने स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर उनले २०७४ सालमा ‘ग्रिल उद्योग’ सञ्चालन गरे । शाहले विदेशमा आफुले सिकेका ज्ञान सीपहरूलाई सदुपयोग गरेर र आफुले कमाएको पैसालाई अब आफ्नै मातृभूमिमा नै उद्यम गरेर प्रयोग गर्नु पर्छ भन्ने सोचका साथ उनले उक्त ग्रिल उद्योगलाई अगाडि बढाउँदै गए । कोरियाबाट कमाएको पैसाबाट १० लाख रुपैयाँ उक्त ग्रिल उद्योगमा शाहले लगानी गरे । तर शाहको उक्त उद्योगमा भने कुनै पनि संघ संस्थाहरूले सहयोग गरेनन् । कुनै संघ संस्थाहरूले सहयोग नगर्दा र शाहको उद्योग सञ्चालनका लागि आफुले विदेशमा कमाएको पैसाले मात्र उक्त उद्योग सञ्चालन गर्न सम्भव नभएको कारणले गर्दा उनले प्रभु बैंकबाट २५ लाख रुपैयाँ ॠण निकाले । बिस्तारै शाहले सञ्चालन गरेको उक्त उद्योग निकै राम्रो संग फस्टाउँदै गएपछि र शाहको उक्त उद्योगमा १० जना नियमित र कामको चाप बढेपछि १५ देखि २० जनालाई उनले रोजगारी समेत दिँदै आएका छन् । शाहले उक्त उद्योगबाट वार्षिक १ करोडको कारोबार गर्दै आएका छन् ।

ठकुरी समुदायका भएकाले कहिले काहीँ शाहलाई केही साथीभाईहरूले विदेशको पैशाले अझै पुगेन, के फलामको काम गरेको होला, खाली दिनभरी घन ठोक्ने भनेर उनलाई जिस्याउने समेत गरेका छन् । तर, शाहले भने उक्त विषयहरूलाई नकार्दै आएका छन् । कुनै पनि काम जात, धर्म समूह, लिङ्गको आधारमा गर्ने होइन, स्वदेशमै बस्तु तथा सेवा उत्पादन कला सीप र क्षमता प्रर्दशन गर्ने हो, त्यसबाटै देश र जतताको भलो हुन्छ भन्ने भनाई शाहको रहँदै आएको छ् । उर्बरा उमेर विदेशमा काटेर बुढेशकालमा स्वदेशमा आएर फेरीता पनि मानिसको जीवनका लागि चाहिने बस्तु विदेशकै भर पर्नुभन्दा पनि केही श्रम, सीप र क्षमता सदुपयोग गर्नुपर्ने शाहको सोच रहेको छ् । उनले स्वदेशमै थुप्रै रोजगारीका अवसर रहेको र उक्त अवसरहरूलाई आफ्ना देशका युवाले सहि ठाउँमा सदुपयोग गर्न नसक्दा आफु जस्ता धेरै युवा पिँढीहरूले विदेशु पर्ने वाध्यता रहेको बताउँछन् । शाहको उक्त ग्रिल उद्योगबाट जिल्लाभरी र बाहिर समेत ग्रिलको लागि माग हुने गर्छ । कहिले काहीँ कच्चा पदार्थ अभाव हुँदा ग्राहकहरूलाई दिन उनलाई भ्याईनभ्याई हुने गर्छ । नेपालीहरु तुरुन्तै ठुलो अपेक्षा राख्ने भएका कारणले गर्दा सफलता नपाउँने गरेको शाहको भनाई छ् । उनले युवाहरूलाई सीप सिकाउने देखि लिएर श्रम गर्न लगाउने र श्रम गरे बाफत ज्याला समेत दिने गरेका छन् । त्यसैगरी शाहले आफ्ना देशका युवाहरूले रोजगारीका लागि विदेशमा गएर भौतारिकनु भन्दा स्वदेशमै केही गर्न सकिने उदाहरणीय काम गरेका छन् । पछिका समयमा पनि उक्त ग्रिल उद्योगमा नै अझै लगानी गरेर फराकिलो ढङ्गले अगाडि बढ्दै जाने शाहले योजना बनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार