२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

मनकारी वडाध्यक्ष कुवँरः दशैं तिहारको अवसरमा १६१ वृद्धवृद्धालाई आफ्नो तलब भत्ता वितरण

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा वडाध्यक्षले तलब भत्ता बृद्धबृद्धा एवं अपांगता भएका व्यक्तिहरुलाई वितरण गरेका छन् ।

बिहिबार भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कवँर (भुन्टु) ले यो वर्षको आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धा र पुर्ण अपांगता भएका १६१ जनालाई वितरण गरेका हुन ।

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा वडाध्यक्ष कुवँरले आफ्नो वर्ष भरीको तलब भत्ता प्रत्येक वर्ष वितरण गर्दै आएका छन् । भीमदत्त–१ का १४१ जना बृद्धबृद्धा र २० जना पुर्ण अपांगता भएका व्यक्तिहरुलाई वडाध्यक्ष कुवँरले एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन् ।

दशैं तिहारको समयमा आफ्नो तलब भत्ता बाड्नुको अर्थ राख्दै वडाध्यक्ष कुवँरले भने, ‘मेरा वडाबासी आमा–बुबा तथा शारीरिक रुपले असंक्तहरुलाई यो दशैं, तिहार एवं छठ पर्वका बेला अलिकति भएपनि खुसी दिलाउन सके भने, त्यो नै मरो लागि अमूल्य आर्शिवाद र धर्म हुन्छ ।’

वडाध्यक्ष कुवँरले भने,‘०७४ मा पहिलो पटक वडाध्यक्षमा निर्वाचित भए देखि नै मैले प्रत्येक वर्ष तलब भत्ता यसै समयमा बृद्ध आमा बुबाहरुलाई केहि भएपनि राहत पुगोस र चाँडवाड मनाउँन सहज होस भन्ने हिसाबले वितरण गर्दै आएको छँु ।’

भत्ता रकम बुँझ्ने क्षणमा निकै हर्ष र आर्शिवाद पुर्ण भावमा रहेका १०० वर्षका वयोवृद्ध गम्भीर सिंह चैसिर– यस्तो (भुन्टु जस्तो) वडाध्यक्ष पाउँनु आफुहरुको अहोःभाग्य भएको बताउछन् । ‘यस्ता वडाध्यक्ष पाउँनु हाम्रो अहोः भाग्य हो । प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन् । यिनी त मन्त्री हुनु पर्ने व्यक्ति हुन, बाबु !’

शारीरिक रुपले अशक्त गोपाल धामी वडाध्यक्ष कुवँरको हातबाट उक्त रकम थाम्दै गर्दा निकै खुसी देखिन्थे । उनले शब्दवाणी प्रवाह गर्न नसकेपनि उनको अनुहारको चमक्ताले खुशीको सीमालाई यी शब्दले वर्णन गर्न सायदै सक्ला ।

भत्ता रकम पाउँने सबैले हर्ष व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आर्शिवाद दिएका छन् । ७० वर्ष माथिका र पुर्ण अपांगता भएकाहरुले भत्ता स्वरुप १५०० रकम बुझेका छन् ।

बिहिबारको कार्यक्रममा उपस्थित हुन नसकेकाहरुको घरमै गएर वडाध्यक्ष कुवँरले उक्त रकम वितरण गर्ने बताए ।

०७४ को स्थानिय निर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसबाट भीनपा–१ को वडाध्यक्षमा उम्मेद्वारीताका कुवँरले आफ्नो तलब भत्ता नलिने घोषणा गरेका थिए ।

पहिलो र दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भए पश्चात कुवँरले आफ्नो तलब भत्ता प्रत्येक वर्ष दशैं, तिहार एवं छठ पर्वको समयमा स्थानिय बृद्धबृद्धा एवं अपांगता भएका व्यक्तिहरुलाई वितरण गर्दै आएका छन् ।


 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार