ई. बिबेक पन्त
म घासेमैदानमा दौड्ने घोडा हुँ, मलाइ दौडमा जित्नु छैन ।
म तालमा पौडने माछा हुँ, बगेर कुनै सागरमा पुग्नु छैन ।
म स्वतन्त्र उड्ने पन्छी हुँ, मलाइ कुनै बिमानस्थलमा ओर्लिनु छैन ।
मलाई नदी झै सलल बग्ने मन छ, आफ्नै तालमा,
मलाई मयुर झै झरीमा छमछम नाच्ने मन छ, आफ्नै चालमा,
मलाई अरु जस्तो होइन, म जस्तै बन्नु छ मेरै गाउँ सहरमा ।
गन्तव्यहिन बाटोमा भौतारीदै हिड्न चाहन्न, मलाई त आफै गन्तव्य बन्नु छ,
भमरा झै फुलहरुमा झुमिरहन चाहनन्न,
मलाई त आफै सुगन्ध बन्नु छ ।
अरुका सिद्धान्त र मेनुफेस्टो कण्ठ पार्नु छैन मलाई,
मलाई त आफै बिचार बन्नु छ ।
म बारीको माटो र गाउको बाटोमा हुर्केको गाउले,
मलाई अग्ला भवनका कोलाहल होइन झुपडीको शुन्यतामा रमाउनु छ ।
(ई. बिबेक पन्त
शुक्लाफाँटा नगरपालिका–७, कञ्चनपुर)