झलारी । शुक्लाफाँटा नगरपालिकाले मानसिक स्वास्थ्य समस्या भएका एक जनाको उद्धार गरेको छ ।

नगरपालिकाले वडा नं. ११ स्थित कलुवापुर बजारमा बेवारिसे अवस्थामा बस्दै आएका पुरुषको उद्धार गरेको हो ।

उनको परिचय भने खुलेको छैन् । उनी केही दिनयता सडकमा बस्दै आएका थिए ।

परिचय र ठेगना नखुलेको एक जना पुरुषको उद्धार गरिएको नगर प्रमुख रणबहादुर महराले बताए । ‘प्रहरीसँगको सहकार्यमा उनको उद्धार गरेका छौं,’ उनले भने, ‘उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइनेछ ।’
नगरपालिकाले बेवारिसे, मानसिक रोगीहरुको उद्धार गर्दै आएको छ ।
नगरपालिकाले केही दिन अगाडि वडा नं. १० स्थित झलारीबाट एक जना युवतीको पनि उद्धार गरेको थियो ।
नगरपालिकाले गत वर्ष ४ जनाको उद्धार गरेको थियो । ‘सडकमा बस्दै आएका, बेवारिसेहरुको उद्धार गर्दै आएका छौं,’ नगर प्रमुख महराले भने, ‘मानव सेवा आश्रम धनगढीसँग नगरपालिकाले सहकार्य गरेको छ ।’
नगरपालिकाले मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएको छ । चालु आर्थिक वर्षमा पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ ।