Saturday, July 27, 2024

कञ्चनपुरमा कर्मचारीहरु समयमै कार्यालय नआएपछि गाउँपालिका अध्यक्षले गेटबाटै घर फर्काए !

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका अध्यक्ष आफैले कार्यालयको मुलगेटमा ताला लगाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी समयमा आउँजाउँ नगर्ने गरेको भन्दै अध्यक्ष हरिशचन्द्र रानाले मुलगेटमै ताला लगाएर कर्मचारीलाई प्रवेशमा रोक लगाएका हुन् ।

समयमा नआउने र समय बाँकि रहँदै कार्यालय छोड्ने प्रवृत्ति दोहरिएको हुँदा गाउँपालिकाका अध्यक्ष रानाले मुलगेटमै ताला लगाएर कर्मचारीलाई घर पठाएका छन् ।

सोमबार बिहान १० बजेसम्म तीनजनाबाहेक अन्य कर्मचारी कार्यालय नआएपछि उनले मूलगेटमै ताला लगाएर प्रवेश गर्न रोकेका हुन् ।

गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले कार्यालयमा ढिलो गरी आउने र समयअगावै निस्कने प्रवृत्ति लामो समयदेखि चलिरहेको बताए।

‘हामीले कर्मचारी साथीहरूसँग पटकपटक समयमै कार्यालय आउने–जाने गर्न निर्देशन गरेका थियौँ,’ उनले भने, ‘प्रमुखको निर्देशन टेर्दै टेरेनन्। बाध्य भएर यस्तो कदम चालिएको हो।’ जनतालाई दुःख दिने काम भएकाले प्रशासन सुधारका लागि यस्तो कदम चालिएको भन्दै उनले कर्मचारीप्रति कुनै प्रतिशोध नभएको प्रस्टीकरण दिए ।

गाउँपालिका अध्यक्ष रानाका अनुसार ४० कर्मचारीमध्ये सोमबार तीनजना मात्रै समयमा आएका बताए ।

गाउँपालिका अध्यक्ष रानाको निर्देशनमा कार्यालयको प्रवेशद्वारमा ताला लगाइएपछि केही घन्टा कर्मचारी बाहिरै बसेका थिए ।

मूलगेटमा ताला लगाएर केही समयपछि खोले पनि कर्मचारीहरू आफूहरूको अपमान भएको भन्दै कार्यालय प्रवेशै नगरी घर फर्किए । कर्मचारी घर फर्किएपछि कार्यालयको कामकाज प्रभावित भएको छ ।

कर्मचारीहरूले भने आफूहरूबाट सामान्य कमजोरीहरू भएको हुन सक्ने भए पनि सबैलाई एउटै ‘घान’मा पारिएको बताए । एक कर्मचारीले भने, ‘केही गल्ती हामीबाट भए स्वीकार गर्न तयार थियौँ। तर, अध्यक्षज्यूले एकपटकका लागि सोच्नुपर्ने हो ।’

गाउँपालिकाको शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले पालिका अध्यक्षबाटै कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई बेइज्जत गरेकाले काम नगरी घर फर्किएको बताए ।

‘हामी कार्यालय समयमै पुगेका थियौँ,’ उनले भने, ‘तर, अध्यक्षज्यूबाट सीधै कार्यालयको प्रवेशद्वारमा ताला लगाइयो । केही घन्टा बाहिरै बस्नुपर्ने अवस्था सिर्जना भयो, सबै कर्मचारी साथीहरूको रायअनुरूप सोमबार काम गर्ने वातावरण नभएकाले मंगलबारदेखि कार्यालय समयमै आएर काम गर्ने छलफल भएको छ ।’

ताला लगाएपछि वार्ताका लागि समेत नबोलाएपछि आफूहरू घर फर्किएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार