Saturday, July 27, 2024

कस्तो हठी जेलरः अदालतको आदेशपछि पनि आरोपितलाई छाड्ने नमान्ने ?

प्रकाशित:

धनगढी । जिल्ला कारागार कैलालीले अदालतको फैसला भन्दा बढी समय आरोपितलाई थुनामा राखिएको पाइएको छ । जिल्ला अदालतले एक आरोपितलाई थुना मुक्त गर्न आदेश दिए पनि कारागार प्रमुख पदमराज तिमिल्सेनाले अझैसम्म कैदमुक्त नगरेको पाइएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला अदालत कैलालीले लागु औषध मुद्दामा कारागार चलान गरिएका टीकापुर नगरपालिका १ का लक्ष्मीप्रसाद चौलागाईंलाई शुक्रबार थुनामुक्त गर्न फैसला गरेको थियो । तर उनलाई हालसम्म थुना मुक्त नगरेको हो ।

अधिवक्ता गम्भीर सिंह ऐरका अनुसार लागु औषध मुद्दामा चौलागालाई २ महिना अगाडि प्रहरीले पक्राउ गरेको थियो ।

सोही मुद्दामा जिल्ला अदालत कैलालीका न्यायधीश डल्लुराम चौधरीको एकल इजलासले शुक्रबार चौलागाईंलाई अन्य कुनै कारण थुन्नुपर्ने देखिएन भने निजलाई आजै थुनामुक्त गरिदिनु भनेर कारागार कार्यालयलाई पत्र पठाएको थियो ।

तर उनलाई विभिन्न कारण देखाउँदै कारागार प्रमुख तिमिल्सिनाले थुनामै राखेका हुन् ।

अदालतको फैसला अनुसार चौलागाईंलाई १ महिना १५ दिन कैद गर्ने फैसला भएको छ । तर उनी अनुसन्धान र कारागार गरी १ महिना २६ दिन थुनामा बसेका छन् ।

अधिवक्ता ऐरले भने, ‘उहाँलाई हिजै छोड्नुपर्ने हो । थुनामुक्त गर्ने फैसलापछि उहाँको आमा र दाइ लिन आउनु भएको थियो ।

तर छोडिएन । अदालत भन्दामाथि कोही छ ? फैसला भएपछि एक मिनेट पनि थुन्न पाइन्न । यो अदालतको फैसलाको नै बर्खिलाप हो । मलाई लाग्छ, जेलरले एकदिन थुनामा राख्न पाउनुपर्ने अधिकार छ भनेर नै थुनामा राखेका होलान् ।’

यसैबीच कारागार प्रमुख तिमिल्सिनाले हिजो ढिलो गरी अदालतको आदेश आउँदा थुनामुक्त नगरेको जिकिर गरेका छन् । प्रतिवादीको क्रिमिनल रेकर्ड पनि हेर्नुपर्ने भएको र समय अभावका कारणले नछोडेको उनले बताए ।

आज शनिबार प्रहरीले चौलागाईंको क्रिमिनल रेकर्ड हेरेपछि मात्रै छोड्ने वा छोड्ने निचोडमा पुग्ने कारागार प्रमुख तिमिल्सिनाको भनाइ छ ।

तर क्रिमिनल रेकर्ड सिस्टम अनलाइन प्रणाली अनुसार राखिएकोले केही समयमा कुन व्यक्तिमाथि कस्तो प्रकृतिको मुद्दा लागेको वा नलागेको हेर्न सकिने बताइएको छ ।

–साभारः रातोपाटी

ताजा समाचार

सम्बन्धित समाचार