Saturday, July 27, 2024

कृष्णपुरको भाइरल कल्भर्टः अघिल्लो सरकारको चुनावी ‘ललिपप’, बाटो खोल्छौं भन्छन्, मेयर ओझा

प्रकाशित:

-मनोज भट्ट ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर । कञ्चनपुरमा बाटोको पहुँच बिना नालामा कल्भर्ट बनेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ जहरी नालामा बनेको कल्भर्टसंग बाटोको पहुँच नहुँदा उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

आर्थिक वर्ष ०७८/०७९ मा निर्माण भएको उक्त कल्भर्ट साढे सात लाखको लागतमा बनेको हो । कृष्णपुर–४ को कृष्ण माविमा अध्ययन गर्ने विद्यार्थी एवं खल्लाढाया र दयाहम्पुर जोड्ने उद्देश्यले निर्माण गरिएको भएपनि बाटोको सुनिश्चितता बिना नै उक्त नालामा बनेको कल्र्भट भाइरल भएको हो ।

कृष्णपुर नगरपालिकाका निवर्तमान मेयर कर्ण हमालको पालामा चुनावी ‘ललिपप’ सहित उक्त ठाउँमा बनेको कल्र्भटमा बाटोको सुनिश्चितता नभएको बताउँदै स्थानिय जगदिश बोहराले आपत्ति जनाएका छन् ।

उनि भन्छन्–‘हामी सानो छदा, यहि बाटो प्रयोग गरेर डल्लप सहित नाला वार–पार गथ्यौं, तर पछिल्लो समय यो नहर (कुलो) बनेपछि त्यो पहिलेको बाटो उपयोग बिहिन भयो ।’ उनि थप्छन्, ‘पाँच सय मिटर तल र माथि पुल बनिहाले, काम चलाउनलाई यो ठाँउमा नहर बनिहाल्यो, अनि ४० वर्ष पहिले हामीले प्रयोग गर्ने बाटो बन्द भयो, अहिले कल्भर्ट त बन्यो तर बाटो बिनाको ।’

त्यस्तै कृष्णपुर–४ कि पुर्व मेलमिलाप संयोजक तारा बोहरा पनि जहरी नालामा अधुरो कल्भर्ट (पुल) बनेकोमा असन्तुष्ट छिन् । पूर्व मेयर हमालको पालामा बनेको उक्त कल्भर्टमा बाटोको पहुँच नभएकोमा उनको असन्तुष्टी छ ।

‘पुल त बनायो तर छेउ न टुप्पोको’ उनि भन्छिन्,‘चुनावका बेला भोटका लागि बजेट हाले, त्यो बजेट पचाए अनि चुनावमा अर्कै जितेर आए, त्यहि भएर बाटो न घाटो भयो ।’ अहिलेको स्थानिय सरकारले उक्त कल्भर्टलाई सञ्चालन गर्नका लागि पहल गरिदिनु पर्ने पुर्व मेलमिलाप संयोजक तारा बोहराको भनाई छ ।

सोहि ठाउँका स्थानिय डम्बर बोहराले पनि बाटो नखोलि पुल निर्माण गरिएकोमा आपत्ति जनाएका छन् ।

वडाबासीको समस्या समाधान गर्नका लागि कल्भर्ट राखिएको, बिडम्बना उक्त कल्भर्ट सडक संग नजोडिएकोमा निवर्तमान वडाध्यक्ष तेज बहादुर रावल समेत दुःखी छन् ।

‘बषौँ अघि यहाँ सडक थियो, ‘उनले भने, ‘सिँचाईको कुलोसंगै अहिले माथिल्ला भेग ओलानी, खल्लाढया, अमरपुर सहित मुक्त कमैया शिबिरका विद्यार्थी एव अन्य नागरिक प्रयोग गर्दै आएका छन ।’

निर्वतमान वडाध्यक्ष तेज ब. रावलले जनताको आवश्यकता अनुरुप उतिबेला कल्र्भट निर्माण गरिएको बताए । ‘हामीले उपभोक्ता समिति मार्फत कल्र्भट निर्माण गरेका हौँ, ‘उनले भने, ‘पुल हालेपछि सडक बन्द भयो ।’ आफुले जनातको राम्रो सोचेर कल्भर्ट निर्माणको योजना ल्याएका तर अहिले विविध पक्षहरुका कारण बदनाम भईरहेको उनको तर्क छ ।

अहिलेका वडाध्यक्ष धर्म बहादुर सिंहले दुवैतर्फ सडक सुनिश्चितता बिना नै निर्माण भएको कल्भर्टले समस्या निम्त्याएको बताए ।

आर्थिक वर्ष ०७७/०७८ र ०७८/०७९ मा कृष्णपुर–४ मा २ वटा र वडा नं. ७ र ८ जोड्ने कुत्ताहा खोलामा निर्माण भएको कल्भर्ट (पुल) समेत बाटोको सुनिश्चितता बिना नै निर्माण गरेर रकम कुम्ल्याउने काम भएको पाइएको छ ।

मटैया कटान स्थित कुत्ताहा खोलामा बनेको पुलमा पनि बाटोको सुनिश्चितता छैन् । तीन घरलाई मात्रै जोड्नका लागि सरकारको लाखौं बजेट दोहन भएको छ ।

पुलको दुवैपट्टीका जमिनदारहरुले आफ्नो जमिन मिचेर बाटो नदिने दाबि गर्दै आएका छन् । कुत्ताहा खोलामा बनेको उक्त पुलका लागि कृष्णपुर नगरपालिकाले १५ लाख ३ हजार भुक्तानी गरेको छ ।

उक्त पुलबाट लाभान्वित हुने भनिएका स्थानिय पदम कुवँर उक्त पुल आवश्यक नरहेको बताउछन् । सामान्य रुपमा मोटरसाइकल लगायत हिडडुल गर्नका लागि काठेपुलबाट काम चलिरहेको अवस्थामा बाटो बिनाको पक्की पुलको अर्थ नरहेको कुवँर बताउछन् ।

‘वारी र पारिका दुवै जनाले बाटो दिदैनौं भन्नुहुन्छ, अनि बजेट पचाँउनका लागि अरुका जग्गामा बाटो पर्नेगरि बनाएको पुलको हामीलेलाई के काम ? हामीलाई त यहि काठेपुलले काम चलिरहेकै थियो ।’ स्थानिय पदम कुवँर भन्छन् ।

त्यस्तै सोहि वडाकी कार्यापालिका सदस्य आरती बोहरा पनि त्यो ठाउँमा पुल आवश्यक नरहेको बताउछिन् । ‘अघिल्लो स्थानिय सरकार कार्यकर्ता पोस्नका लागि विभिन्न अनावश्यक ठाउँमा समेत बजेट हाले । त्यो आवश्यक थिएन, अहिले अवस्था बेहाल छ ।’ कार्यपालिका सदस्य बोहरा भन्छिन् ।

अघिल्लो स्थानिय सरकारले हचुवाका भरमा औचित्यहिन रुपमा ठुलो बजेट हालेर कल्र्भट लगायतका विभिन्न संरचना निर्माण गरेको र उपलब्धी शून्य रहेका कृष्णपुर–७ का वडाध्यक्ष घुम्मन रानाले बताए । ‘त्यो ठाँउमा पुलको आवश्यकता नै थिएन, आवश्यकता भएको भए आज स्थानीयले पुल निर्माणमा साथ दिनुपर्ने थियो, ‘वडाध्यक्ष रानाले भने, ‘त्यहाँ काठको पुल हुँदा हुँदै, र अर्को कुरा बाटोको पहुँच बिना नै पुल किन निर्माण गरियो ?’

नगर प्रमुख हेमराज ओझाले जहरी खोला र कुत्ताहा खोलामा पुल कल्र्भट निर्माण कार्य आफ्नो कार्यकालमा नभई अधिल्लो सरकारका पालामा निर्माण भएको बताए ।

‘दुवै खोलामा हाम्रो पालामा बनेका पुल होईनन, ‘मेयर ओझाले भने, ‘एमाले नेतृत्वको अघिल्लो सरकारले यस्ता विवादित योजना बनाउने, आलोचित हामीले हुनुपरेको छ ।’ नगर प्रमुख ओझाले बाटोको सुनिश्चितता बिना नै निर्माण गरिएका पुल प्राविधिक दृष्ट्रिकोणबाट समेत राम्रो नदेखिएको बताए ।

‘दुवै पुल क्षेत्रका सडक विस्तारका लागि जमिन प्राप्तीदेखि थप योजना ल्याउन जटिलता उत्पन्न भएको छ ।’ नगर प्रमुख ओझाले भने, ‘दुवै पुल निर्माणमा बदनियत देखियो, कसैले भनेकै भरमा योजना हालेर अहिले औचित्यहिन देखियो ।’

नगर प्रमुख ओझाले दुवै खोलामा निर्माण भएका पुल सञ्चालनका लागि अहिले आफुहरु तयार रहेको बताए । ‘यस अघि सडक सुनिश्चितता बिना नै निर्माण भएका पुल सचालनका लागि हामी तयार छौँ, ‘उनले भने, ‘आवश्यक स्टेमेट गरेर सञ्चालन गछौँ ।’

 

ताजा समाचार

सम्बन्धित समाचार