२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

जातीय विभेदको रंग लिँदै बझाङ घटना, आज अर्को जाहेरी हाल्दै

प्रकाशित:

Advertisements

महेन्द्रनगर । गत साता बिहीबार बझाङको बित्थडचीर गाउँपालिकामा भएको घटनाले जातीय विभेदको रंग लिन लागेको छ ।

घटनापछि अभद्र व्यवहारको उजुरी दिएका पीडितले आज जातीय विभेदको उजुरी दिन भएका छन् । पीडितहरुलाई दलित अधिकार सम्बन्धी संघ संथा र अगुवाले पनि साथ दिने भएका छन् ।

बिहीबार बित्थडचिर गाउँपालिका–७, स्यालढुङ्गामा स्थानीय पुड्को ओखेडाले बनाइरहेको घर स्थानीय वासिन्दाको हुलले भत्काइ दिएपछि विवाद बढ्दै जाँदा जातीय विभेदको मुद्दा बन्न लागेको हो ।

घटनापछि शुक्रबार पुड्को ओखेडाले जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको जाहेरी दिएका भएपनि आज आइतबार आफूले जातीय विभेदको जाहेरी दिन लागेको पुड्कोका छोरा बिक्रम ओखेडाले बताए ।

बिक्रमले आफ्ना बुवाको नाममा लालपूर्जा जारी भएको जग्गामा घर बनाउन खोज्दा दलित भएकै कारण निर्माणाधिन घर भत्काई खेतबारीको बालीसमेत उखेलिदिएको दावी गरेका छन् ।

उनले २५ वर्ष अगाडि आफ्ना बुवाले सोही गाउँका शिद्धराज जोशीबाट सात लाख ६५ हजार तिरेर रजिष्ट्रेसन पास गरी जग्गा किनेको भएपनि गाउँका गैरदलितले सो ठाउँमा घर बनाउन नपाउने भन्दै जातीय विभेद हुने शब्द बोलेर घर भत्काइदिएको बताएका छन् ।

स्थानीयले भने सार्वजनिक गौचरण जमिन अतिक्रमण हुन थालेपछि गाउँलेहरुले रोक्न खोजेको बताएका छन् । पुड्को ओखेडाले घर बनाइरहेको जग्गा सार्वजनिक भएको प्रहरीको पनि भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना सूचना अधिकृत इन्स्पेक्टर रमेशदत्त अवस्थीले ओखेडाले घर बनाइरहेको जग्गामा बाटोसमेत भएको खुल्न आएको जानकारी दिएका छन् ।

अवस्थीका अनुसार पुड्को आखेडाको घर भएको स्यालढुङ्गाबाट गैरदलित बस्ती झन्डै दुई किलोमिटर टाढा छ ।

पुड्को ओखेडाले दिएको जाहेरीसँगै संल्गन् भिडिओले जातीय विभेद नठहर्ने अवस्थीको भनाई छ ।

ओखेडा परिवारले बर्सेनी घरबारी र घेरबार सार्दै सो सार्वजनिक जग्गा अतिक्रमण गर्न थालेपछि गत चैत महिनामा वडा कार्यालयमा उजुरी परेको र त्यसबेला अतिक्रमण नगर्ने सहमती भएको सोही वडाका कार्यवाहक वडाध्यक्ष मुकुन्द जोशीले बताएका छन् ।

पुड्को ओखेडाको जाहेरीपछि प्रहरीले स्थानीय नन्दलाल जोशी, कृष्ण जोशी र भवानी जोशीलाई शुक्रबार पक्राउ गरेको छ । इन्स्पेक्टर अवस्थीका अनुसार आज उनीहरुको म्याद थपिने छ ।

स्यालढुङ्गा गाउँमा ३२ घरधुरीको बसोबास छ जसमध्ये एक दर्जन दलित परिवार छन् ।

पुड्को उखेडाको घर भत्काउन गाउँका दलित परिवार पनि गएका थिए । उनीहरुलाई डर त्रास र धम्की दिएर गैर दलितले आफूसँग लगेको बिक्रम ओखेडाको दावी छ ।

घटनाको विभिन्न दलित अधिकार सम्बन्धी संघ संस्थाले विरोध गरेका छन् । दलित अगुवा तथा संघसंस्थाको सहयोगमा आज आफूले जातीय विभेदको जाहेरी दिने बिक्रमले बताएका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार