Monday, April 22, 2024

दलदल बन्यो बेलडाँडीको तीन हजार बिघा उर्वर भूमि

प्रकाशित:

  महेन्द्रनगर।  संघीय सरकारले भूउपयोग नियमावली, २०७९ जारी गर्दै खेतीयोग्य जमिन बाँझो राखे एक लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनलाई १० क्षेत्रमा वर्गीकरण गरेर लगातार तीन वर्ष जमिन बाँझो राखे कारबाही हुने व्यवस्था गरेको छ। तर, कञ्चनपुरको बेलडाँडीमा दशकौँदेखि उर्वर भूमि सरकारकै कारण बाँझो छ। सरकारले नहर विस्तारदेखि खोलानदीको उचित तटबन्ध नगरिदिँदा झन्डै तीन दशकदेखि उर्वर भूमि बगर र सिमसारमा परिणत भएको छ।

०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण सुरु भएसँगै सिपेज, झर्नाखोला र चौधर नदी गाउँ पस्दा उर्वर भूमि दलदल, बगर र सिमसारमा परिणत भएको हो। बेलडाँडी गाउँपालिका– १ देखि ५ सम्म तीन हजार बिघाभन्दा बढी जमिन बाँझो छ।तीनै तहका सरकारले कागजमा कृषिलाई प्राथमिकतामा राखे पनि व्यवहारमा लागू नहुँदा जमिन भएर पनि नागरिकले उपभोग गर्न पाएका छैनन्। बगर र सिमसारमा परिणत भएको जमिनको विषयमा सरकारले चासो नदिँदा एकातिर किसान मारमा परेका छन् भने अर्कातिर उत्पादन घटेकाले खाद्यान्न आयातमा राज्यलाई थप आर्थिक भार थपिएको छ।

कृषिमा आमूल परिवर्तन गर्ने भाषणबाजीदेखि तारे होटेलमा योजनाबारे सेमिनार गरे पनि उर्वरभूमि पुनरुत्पादन गर्नेतर्फ कसैले चासो दिएका छैनन्। बेलडाँडीको पूर्वमा झर्नाखोला र पश्चिममा चौधर नदीसहितको खोलानालाका कारण जमिन दलदलमा परिणत हुँदै आएको छ। यसबारेमा तीनै तहका सरकारलाई पटकपटक ध्यानाकर्षण गराए पनि कसैले चासो नदिएपछि बेलडाँडीका युवाहरू खाडी सोझिएका छन्।बेलडाँडी गाउँपालिका– १ झिलमिलाबस्तीका सन्तोष कुँवरले भएको जमिन दलदलमा परिणत भएपछि घरपरिवारका लागि खाद्यान्नको जोहो गर्न खाडी मुलुकतिर हानिएको बताए। ‘हामी सानो छँदा खेतमा धान टन्नै फल्थ्यो,’ उनले भने, ‘नहरको लिकेजले कतै दलदल र झर्नाखोलाको बाढीले कतै बगरमा परिणत भएको छ जमिन।’

झिलमिलाबस्तीकै जनजालीबहादुर चन्द पनि भएको खेत सिमसारमा परिणत भएपछि बिदेसिन बाध्य भएका छन्। कुनैवेला जनजाली परिवार जमिन भएकै कारण गाउँमा ‘सेठजी’कै रूपमा परिचित थिए। तर, भएको जमिन दलदलमा परिणत भए पनि जनजालीका दाजुभाइ पनि विदेशीका हुन्।बेलडाँडीका स्थानीय अगुवा दिनेश ठगुराठीले १ नम्बर वडामै एक हजारभन्दा बढी बिघा जमिन बाँझो रहेको बताए। ‘बेलडाँडीको आधाजति जमिन दलदलमा परिणत भएको छ,’ उनले भने, ‘मेसिनबाट पानीको निकास हुँदैन, मानवीय श्रमशक्ति लगाएरै भए पनि पानीको निकास गर्नुपर्छ।’ उनले बेलडाँडीको दक्षिणमा रहेका किसानले त्यहीबराबर रहेको खेतमा नगदे बाली लगाएर वार्षिक लाखौँ आम्दानी गरे पनि बेलडाँडीका किसानले बाँझो जमिन हेरैरे चिन्त बुझाइरहेका बताए।

बेलडाँडी गाउँपालिका– २ चवन्नीका यज्ञ खड्काले जमिन दलदलमा परिणत भएपछि खेतीपाती गर्न नसकिएको गुनासो गरे। ‘पहिला कम दलदल थियो। अहिले त सिंगै मानिस दलदलमा फस्छ,’ उनले भने, ‘खेती त परै जाओस्, जान पनि सकिँदैन।’ बेलडाँडी गाउँपालिका– ३ खैरीघाटका जमन रानाले सिमसार व्यवस्थापन नहुँदा किसानले निकै समस्या खेप्नुपरेको बताए।बेलडाँडी गाउँपालिका– ४ वैवाहका पदम लुहारले खेत सिमसारमा परिणत भएपछि अन्न किनेरै गुजारा चलाइरहेको सुनाए। ‘विगतमा मेरो परिवारलाई आफ्नै खेतमा उत्पादन भएको अन्नबालीले खान पुग्थ्यो,’ उनले भने, ‘अहिले खेत बाँझै भएकाले किनेर खान्छौँ।’ लुहारले खेत बाँझै भएपछि बिदेसिन बाध्य भएको बताए।

बेलडाँडी गाउँपालिका– ५ झिलमिलाका पदम खड्काले गाउँमा नहर निर्माण भएपछि नहरको पानी चुहिएर पूरै खेतमा जाने भएकाले उर्वराभूमि सिमसारमा परिणत भएको बताए । नहर निर्माणअघि उर्वराभूमिमा धान, मसुरलगायतका अन्नबाली लगाउने गरे पनि खेत सिमसारमा परिणत भएपछि उनी बिदेसिएका छन्। ‘अहिले खेत दलदलमा परिणत भएको छ। छेउछाउबाहेक अन्यमा खेती हुँदैन,’ उनले भने। केही वर्षअघि सरकारी तथा गैरसरकारी निकायको पहलमा सिमसार जमिनमा नाला निर्माण गरेपछि केही जमिन खेतीयोग्य भए पनि झिलमिलाको सयौँ बिघा जमिन अझै बाँझै छ।

हरेक निर्वाचनमा राजनीतिक दल र तिनका नेता–कार्यकर्ताले बेलडाँडीको सिमसार जमिन पुनरुत्पादनको एजेन्डा अघि सारे पनि चुनाव जितेपछि देखा पर्दैनन्। स्थानीय, प्रदेश र संघीय चुनावमा उम्मेदवारले यस विषयलाई चुनावी एजेन्डाका रूपमा देखाए पनि जितपछि वास्ता नराख्दा समस्या उस्तै रहेको स्थानीय बताउँछन्। बेलडाँडीका स्थानीय अगुवा जनकसिंह धामीले कृषिमा क्रान्ति गर्छौँ भन्नेहरूले कुनै चासो नदिएको बताए। ‘जहाँ कमिसन पाइन्छ, त्यहीँ योजना हाल्छन्,’ उनले भने, ‘प्रदेश र संघीय सरकारलाई यस्ता जमिनको चिन्ता छैन, आफन्तलाई अनुदान पोस्नदेखि कृषिका नाममा नक्कली काम गर्नेलाई बजेट दिन्छन्। कर्मचारी पनि जहाँ बढी कमिसन, त्यहीँको योजना कार्यान्वयन गर्छन्।’

बेलडाँडी– १ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता गजबहादुर विष्टले गाउँपालिकाको १ देखि ५ वडासम्म सिमसारमा परिणत भएको जमिन पुनरुत्पादन गरिने बताए। उनले भने, ‘हामी कार्यपालिका बैठकबाट सिमसार व्यवस्थापनका लागि डिपिआर तयार पारेर खेतीयोग्य बनाउँछौँ।’ बेलडाँडी गाउँपालिकाले दलदलमा परिणत भएको जमिन पुनरुत्पादनका लागि योजना अघि सारेको जनाएको छ। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीको सिमसार जमिन खेतीयोग्य बनाउन आगामी आर्थिक वर्ष ०८०/८१ को नीति, कार्यक्रम तथा बजेटमा समेटिएको बताए। गाउँप्रमुख रानाले कुनै न कुनै विधि निकालेर जमिन खेतीयोग्य बनाउने प्रतिबद्धता जाहेर गरेका छन्।

यता, कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि बेलडाँडीमा सिमसारमा परिणत भएको जमिन खेतीयोग्य बनाउन योजना बनाउने जनाएको छ। ज्ञान केन्द्रका सूचना अधिकारी जनक सिंहले उक्त जमिन कृषिमा परिणत गर्न प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए।सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मदनसिंह धामीले खेतीयोग्य भूमि पुनरुत्पादनका लागि प्रदेश सरकारले सम्बन्धित निकाय पालिका र कृषि ज्ञान केन्द्रमार्फत समन्वय गरेर अघि बढ्ने बताए। ‘एकपटक प्रदेश सरकारले जमिनको स्थलगत अनुगमन गरेर योजना बनाउँछौँ,’ सचिव डा. धामीले भने।

 

ताजा समाचार

सम्बन्धित समाचार