Friday, March 29, 2024

परिवार नियोजनको साधन “इम्पलान्ट” प्रयोग गर्ने महिलाहरुको संख्यामा वृद्धि

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा परिवार नियोजनको साधन प्रयोग गर्ने सेवाग्राहीमा पुरुषहरूको भन्दा महिलाहरुको संख्या बढि रहेको देखिएको छ ।

परिवार नियोजनका साधनहरूमा प्रोजेस्टन-ओनली पिल्स अथवा प्रोजेस्टिन-ओनली पिल्स खान मिल्ने गर्भनिरोधक चक्कीहरु हुन्, जसलाई मिनी पिल्स पनि भनिन्छ । अन्य गर्भनिरोधक चक्की जस्तै मिनी पिल्समा पनि प्रोजेस्टिन अथवा प्रोजेस्टोजन नामक एकै प्रकारको हार्मोन हुन्छ र त्यसैले यसको दुष्प्रभाव कम हुन्छ । ३५ वर्षभन्दा बढी उमेरका महिलाहरु नियमित रुपले गर्भनिरोधक चक्कीको प्रयोग गर्न सक्दैनन् । त्यसैले उनीहरुले मिनी पिल्सको प्रयोग गर्न सक्छन् । ती गर्भनिरोधक चक्कीहरु २८ दिनको अन्तरालमा लिने गरिन्छन् ।

यसैगरी स्वास्थ कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार २०७८/०७९ मा पिल्स चक्की प्रयोग गर्ने महिलाहरूको संख्या ४ हजार ७ सय ५५ जना रहेका छन् भने, ०७९/०८० मा पिल्सको प्रयोग गर्ने महिलाहरूको संख्या ४ हजार २ सय ५० जना रहेका छन् । तथ्याङ्कको अनुसार अहिले पिल्स चक्कीको प्रयोग गर्ने महिलाहरूको संख्या भने घट्दै आएको छ ।

यसैगरी महिलाहरूले गर्भ रोक्नको लागि प्रयोग गर्दै आइरहेका परिवार नियोजनको साधनहरू मध्ये (डिपो) सुई पनि रहेको छ । जसलाई संगिनी सुई पनि भन्ने गरिन्छ । तीन महिने (डिपो) सुई परिवार नियोजनको एक प्रभावकारी अस्थायी साधन हो । यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउने गर्छन् ।

तर २०७८/०७९ को तथ्याङ्कका अनुसार डिपो सुईको प्रयोग गर्ने महिलाहरूको संख्या ८ हजार ४ सय ८९ जना रहेका छन् भने, ०७९/०८० मा ८ हजार १ सय ४२ जना रहेका छन् । तथ्याङ्कका अनुसार अहिले डिपो सुइको प्रयोग गर्ने महिलाहरूको संख्या भने घट्दै आएको स्वास्थ कार्यालयका प्रमुख दया पन्तले बताए ।

यसैगरी महिलाहरूले नियोजनको साधनका रुपमा आई.यु.सी.डी. को प्रयोग गर्दै आइरहेको पनि पाइन्छन् । यो एक प्रकारको अस्थायी साधन हो जुन एउटा सानो, लचिलो प्लाष्टीक र तामाले बनेको परिवार नियोजनको साधन हो । जुन महिलाको पाठेघरमा राखिन्छ । यसमा कुनैपनि औषधी वा हार्मोन राखिएको हुदैन । यसले महिलाको डिम्ब र पुरुषको शुक्रक्रिटलाई मिलन हुन बाट रोक्ने र डिम्ब बाहिनी नलिसम्म पुग्ने शुक्रक्रिटको संख्या लाई घटाईदिने र तिनीहरुलाई निस्क्रिय बनाई निशेचित हुने काम बाट बचाउँछ ।

कञ्चनपुर स्वस्थ्य तथ्याङ्कको अनुसार २०७८/०७९ मा आई.यु.सी.डीको प्रयोग गर्ने महिलाहरूको संख्या ५ हजार ५ सय १८ जना रहेका छन् भने, ०८९/०८० मा यसको प्रयोग गर्ने महिलाहरूको संख्या ५ हजार ९ जना रहेका छन् । जसको प्रयोग अहिले कम हुँदै आएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

महिलाहरूले प्रयोग गर्ने परिवार नियोजनको साधनहरू मध्ये अहिले इम्पलान्ट पनि एक रहेको छ । जसलाई परिवार नियोजनको नयाँ साधनको रुपमा लिइएको छ । महिनावारीको पहिलो सात दिनभित्र महिलाको पाखुराको छालाभित्र घुसाएर राख्ने गर्भ निरोधक परिवार नियोजनको साधन हो । यो साधन गर्भ धारण रोक्नका लागि धेरै सुरक्षित र भरपर्दो मानिन्छ ।

तथ्याङ्कको अनुसार २०७८/०७९ मा यसको प्रयोग गर्ने महिलाहरूको संख्या ६ हजार ८ सय ६२ जना रहेका छन् भने, ०८९/०८० मा यसको प्रयोग गर्ने महिलाहरूको संख्या ७ हजार २ सय ३१ जना रहेका छन् । तथ्याङ्कको अनुसार इम्पलान्टको प्रयोग गर्ने महिलाहरूको संख्या भने बढ्दै गइरहेको स्वास्थ्य कार्यालयका प्रमुख पन्तले बताए ।

प्रमुख पन्तका अनुसार “यो साधनको राम्रो पक्ष भनेको फेरि प्रयोगकर्ता गर्भवती हुन चाहेमा तालिम प्राप्त स्वास्थ्यकर्मीका सहायताले यसलाई निकाल्न सकिन्छ । यसको प्रयोगकर्ताहरू अहिले बढि भएको स्वस्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।”

 

ताजा समाचार

सम्बन्धित समाचार