Saturday, July 27, 2024

महाकाली अस्पतालमा विशेषज्ञ डाक्टरको संख्या १६ पुग्यो, रेडियोलोजिष्ट र छाला रोग विशेषज्ञले पनि सम्हाले जिम्मेवारी 

प्रकाशित:

 महेन्द्रागर । महाकाली प्रादेशिक अस्पतालमा थप दुई जना विशेषज्ञ चिकित्सक आएका छन् । उनीहरु सहित अस्पताल विशेषज्ञ चिकित्सक १६ जना पुगेका छन् । पछिल्लो पटक छाला रोग विशेषज्ञ र रेडियोलोजिष्ट आएका हुन् ।
उनीहरु दुबैले जिम्मेवारी सम्हालि सकेका छन् । रेडियोलोजिष्टमा डा. महेश्वर प्रसाद शाह र छाला रोगमा डा. एजाज अहमद यादव छन् । अस्पतालले यी दुई विशेषज्ञ चिकित्सकलाई करार सेवामा लिएको हो । अस्पतालले केही समय अघि यी दुई विशेषज्ञ चिकित्सकका लागि सार्वजनिक सूचना आव्हान गरेको थियो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले नयाँ नियुक्त गरिएका दुबै विशेषज्ञले जिम्मेवारी सम्हालेको बताए ।
‘अस्पतालमा छाला र रेडियोलोजिष्टको अभाव थियो, त्यो पनि अहिले पूरा भएको छ, वहाँहरु दुबैले जिम्मेवारी सम्हालिन सक्नु भएको छ’ उनले भने, ‘यसले सेवाग्राहीलाई अझै सेवा पाउन थप सहज भएको छ ।’ यस अघि मेसु भट्ट सहित १४ जना विशेषज्ञ कार्यरत छन् । दुई जना थपिएपछि अस्पतालमा विशेषज्ञ(कन्स्लेन्ट) मात्रै १६ चिकित्सक पुगेका छन् । केही वर्ष अघिसम्म अस्पतालमा विशेषज्ञ चिकित्सक शुन्यमा पुगेको थियो ।
मेडिकल सुपरिटेन्डेन्ट भट्टले जनशक्ति व्यवस्थापन गरी सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने लक्ष्य लिएर अघि बढेको बताए । ‘अस्पतालका सेवा सुविधा सुधारका दिशामा अघि बढी रहेका छौ, यसमा सबैको साथ सहयोग आवश्यक छ’ उनले भने । अस्पतालमा विशेषज्ञ बाहेक अन्य दरबन्दी अनुसारका सबै चिकित्सक पूर्ति गरिएका छन् । उनीहरुमा डा. भट्ट बाहेक अन्य भने करार सेवाका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको अस्पताललाई तीन वर्ष अघि प्रादेशिक बनाइएको थियो । अस्पतालमा डा. भट्ट सहित गिरीश अवस्थी, योगेश भट्ट एमडिजीपि छन् । स्त्री रोग विशेषज्ञमा डा. कविता शाह, डा. संगिता श्रेष्ठ र डा. दिपिका श्रेष्ठ छन् ।
डा. शक्तिनृ सिह यादव बाल रोग, तथा डा. जनार्दन प्रसाद जोशी र डा. निर्मला शाह जनरन सर्जन छन् । अस्पतालमा डा. दुर्गेश चौधरी र डा. केशवराज भट्ट अर्थोपेडियाट्रिक्स छन् । अस्पतालका अनुसार डा. जेम्स थापा मगर र डा. भावना भट्ट एनेस्थेसियामा छन् । यसैगरी इएनटीमा डा. प्रशान्त भट्ट छन् । अस्पताल प्रशासन सहायक हर्कराज भट्टले अस्पतालमा विशेषज्ञ चिकित्सक सहित सबै गरी एक जना कार्यरत भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार