Saturday, April 20, 2024

निर्वाचन आयोगले गर्यो स्थिर समय सुरु

प्रकाशित:

महेन्द्रनगर । यहीँ ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज बिहीबार ९ मंसिर १० राति १२ बजेदेखि ‘स्थिर समय’ सुरु हुदै छ ।

निर्वाचन आयोगका अनुसार बिहीबार मध्य रातदेखि राजनीतिक दलहरूको सम्पूर्ण प्रचार-प्रसारमा निषेध गरिएको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ संगठनले निर्वाचन प्रचार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।

यो अवधिमा राजनीतिक दलका उम्मेदवार वा दलका अन्य प्रतिनिधिलाई मात्र नभई सामाजिक सञ्जाल, अनलाइन, छापा लगायतका माध्यमबाट पनि प्रचार-प्रसारका लागि रोक लगाइएको छ ।

निर्वाचन आयोगका अनुसार स्थिर समय सुरु भएसँगै सबै प्रचार-प्रसारका कार्यक्रम बन्द हुनेछन् । बिहीबार मध्य रातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न नपाइने आयोगले जनाएको छ ।

यस्तै, प्रत्येक मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ ।

स्थिर अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्विटर, टिकटक लगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ ।

राति १२ बजेबाट सीमा नाका बन्द हुनेछन् । बन्द भएका नाकाहरु मतदान सकिएसँगै खुल्नेछन् । त्यस्तै, स्थिर अवधि सुरु भएसँगै मदिरा बिक्री तथा वितरणमा पनि रोक लगाइने भएको छ ।

गत बुधबार आयोगले मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार