
महेन्द्रनगर । निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएलगत्तै मतपेटिका संकलन गरी मतगणना सुरू गर्ने र तीन दिनभित्र प्रत्यक्ष तर्फको मतगणना गरिसक्ने तयारी गरेको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले छिटो मतगणना गर्न निर्वाचन अधिकृतहरूलाई भनिएको बताए । ‘मतदान सकिएपछि सबै मतपेटिका संकलन हुन्छ ।
त्यसपछि गणनाको काम सुरू गरिन्छ । यो सबै निर्वाचन अधिकृतको क्षेत्राधिकार भित्र पर्ने विषय हुन् । हामीले कार्यविधि बनाएर उहाँहरूलाई प्रेरित गर्छौं,’ थपलियाले भने । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको भोट मंसिर ७ गतेसम्म गणना गरिसकिने उनको भनाइ छ ।
‘मंसिर ७ गते बेलुकीसम्म प्रत्यक्षतर्फ सबै र त्यसको पाँच दिन भित्रमा समानुपातिकतर्फको सबै मतगणना सक्ने योजना बनाएका छौं,’ उनले भने, ‘हामी मंसिरको २२ गते सम्पूर्ण रिपोर्ट बोकेर राष्ट्रपतिसमक्ष बुझाउन जाने तयारीका साथ लागेका छौं ।’
