महेन्द्रनगर । मंसिर ४ मा हुने चुनावका लागि गोरखा २ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिलाई गति दिन सकिने बताएका छन् । प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन् ।
आफ्नो निर्वाचन क्षेत्र गोरखा २ अन्तर्गत जौवारीमा आज बिहान भएको चुनावी कोण सभामा बोल्दै उनले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेको र कांग्रेस-माओवादी मिल्दा समृद्धिले गति पाउने बताए ।
‘नेपाली कांग्रेस र माओवादी मिल्दा मात्रै मिल्नुको अर्थ हुन्छ। परिणाम राम्रो आउँछ। विकास निर्माण र समृद्धिलाई गति दिन सकिन्छ,’ प्रचण्डले भने । प्रचण्डले चुनावी सभाहरूमा स्थानीय मुद्दालाई पनि प्राथमिकताका साथ उठान गर्दै आएका छन् ।
उनले कच्ची सडक कालोपत्र गर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रचण्ड पछिल्लो पटक बिहीबारदेखि गोरखा २ का विभिन्न गाउँमा चुनावी कोणसभा गरिरहेका छन् ।
उनले सडक कालोपत्र गर्ने कुरा मुख्य देखिएको बताए। ‘धुलो बाटोलाई पिच गर्ने पहिलो प्राथमिकता हो,’ उनले भने, ‘पहाडमा सडक कस्तो हुनुपर्छ भन्ने देशभरि देखाउन यहाँका बाटा पिच गरिन्छ ।’