
महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् ।
बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै उनले सो आरोप लगाएका हुन् ।
उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उटपट्याङ कुरा गरिरहेका भन्दै ओलीका उटपट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला आएको बताए ।
अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताउँदै अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए ।
उनले भने– ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौँ । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उटपट्याङ कुरा गरिरहेका छन् ।
उनले थप भने– ‘आज उनले चुनावमा गरिरहेको खर्च हेर्नुस् त, अर्बौं अर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ रु आम्दानीको श्रोत के हो रु लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताए । उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गरेको बताए ।
उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे । उनले भने, ‘हामीले सुकुम्वासी समस्यालाई देख्यौँ, त्यसको समाधान केही गर्यौं ।
६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्यौं । यो त नेपालको इतिहासमा नै अहिलेसम्म अरूले नगरेको काम हामीले गरेका हौँ । बूढापाकालाई पेन्सन दिने काम गरेका छौँ ।
१०० बाट सुरु गरेका थियौँ, ४ हजार पुगेको छ, अब हाम्रो पार्टीको सरकार बन्यो भने ५ हजार पुर्याउनेछौँ ।’उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतिको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको समेत बताए ।
