
महेन्द्रनगर । गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता मा.वि. मा नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कोमल वलीले चुनावी अभियानका बेला विद्यार्थीहरूसँग छलफल गरेकी थिइन् ।
दाङ क्षेत्र नम्बर ३ मा वलीले चुनावी अभियानका बेला विद्यार्थीहरूसँग छलफल गरेका फोटो सार्वजनिक भएको छ ।चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ ।
वलीले भने विद्यालयको आग्रहअनुसार आफू गएको दाबी गरेकी छन् । ‘विद्यार्थी र विद्यालय परिवारले म जत्तिको एक चर्चित गायिकालाई विद्यालयमा बोलाउनु स्वभाविक हो ।
विद्यालयभित्र होइन बाहिर मैले कुराकानी गरेको हुँ,’ उनले भनिन् । तर एक विद्यार्थीका अनुसार वली विद्यालय प्राङ्गणमै भएको भेलामा पुगेकी थिइन् । उनले त्यसक्रममा गीतसमेत गाएर सुनाएकी थिइन् । ‘उहाँले मलमल किरी जुनकिरी गीत गाउनुभयो ।
हाम्रो एकजना साथी नाच्नु पनि भयो । अन्तिममा उहाँले एमाले जिन्दावाद, भोट के मा सूर्यमा भन्ने नारा लगाउनुभएको थियो,’ ती विद्यार्थीले भने ।
विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले वली र उनका समर्थकले विद्यार्थी भेला गराएर कार्यक्रम गराएको जानकारी आफूले ढिला थाहा पाएको बताए । आफूहरूले विद्यालयका तर्फबाट वलीलगायतलाई नबोलाएको उनले बताए।
‘उहाँहरुले बिद्यालय भित्रै कक्षा कोठामा बिद्यार्थी भेट्न चाहानु भएको थियो, तर हामी शिक्षकले बिरोध गरेपछि त्यसो हुन पाएन,’ अर्का एक शिक्षकले भने ‘उक्त दिन विद्यालय परिसरमा उहाँहरुले गरेको भेला निर्वाचन आचारसंहिताको विपरीत छ ।’
वलीका सचिवालयका एक सदस्य वीरवल खड्काले घटनाबारे अनभिज्ञता व्यक्त गरेका थिए । ‘गाडी नजाने भएपछि हामीहरु वर नै रोकेका थियौं । उम्मेदवारहरु मात्रै स्थानीयहरूसँग मोटरसाइकलमा जानु भएको हो ।’
उक्त कार्यक्रममा दाङ ३ (ख) का एमाले उम्मेदवार हुकुमबहादुर बस्नेत पनि उनको साथमै देखिन्छन् । तर आलोचना पछि फोटा हटाइएका थिए ।
