२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

भोट बैंकका रुपमा प्रयोग हुँदै मुक्त हलिया

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ ब्रम्हदेवकी बसन्ती ढिकालको चुलोमा मजदुरी नगरे आगो बल्दैन । दैनिक विहानीको झिसमिसे देखि साँझ अवेर सम्म उनले मजदुरी गर्दै आएकी छिन् ।

गाउँमा बसन्तीको बस्नका लागि सानो झोपडी छ । झोपडीमा बालिबालीका सहित उनी बस्दै आएकी छिन । झोपडी बनाईएको जग्गा उनको स्वामित्वको होइन ।

मजदुरीको पैशाले उहाँको साँझ विहानको खाना खर्च जुटने गरेको छ । ‘मजदुरी नपाईएका बेला भोक भोकै बस्नु पर्छ’ उनले भनिन् ‘गाउँमा कृषि मजदुरका रुपमा र गाउँमा मजदुरी नपाईए निकतटबर्ती भारतीय टनकपुर बजारमा गएर मजदुरी गर्दै आएको छु ।’

उनले लोकतन्त्र स्थापना पछिका चुनावमा निरन्तर रुपमा मतदान प्रकृयामा सहभागीता जनाउदै आएकी छिन । निर्वाचनमा उम्मेदवार हुनेहरुले घरमै पुगेर पुनः स्थापन संगै घर निर्माण गर्ने, रोजगारी दिने कुरामा अश्वास्त पारेर जान्छन् ।
‘वाचा र प्रतिवद्धता गर्ने उम्मेदवारहरुले चुनाव जितेपछि वर्षौ देखिको गरिबीको अन्त्य गर्नेमा ढुक्क हुन्छौं’ उनले भनिन् ‘चुनाव जितेपछि कोही पनि बस्तीमा छिर्दैनन् ।’

‘विगतमा चुनाव होरेका फर्केनन, जितेका राजनीतिक दलहरुका उम्मेदवारहरुले बाचा र कसम खाएरै भोट मागे, उनीहरु पनि फर्केनन् अहिले पनि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि मत माग्न उम्मेदवार पुग्न थालेका छन, पुरानै उम्मेदवार जस्तै बाचा कसम खाने क्रम जारी छ’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य र रोजगारका कुरा चुनावी एजेण्डाका रुपमा ल्याएका छन् ।’

बुवा बाजे देखि ससुरा र श्रीमानले वर्षौ देखि अर्काको घरमा हलिया बसेर कार्य गरेको भएपनि परिचय पत्र सम्म पाउन नसकेको उनले गुनासो गरीन् ।

मुक्त हलियाको लगतमा समावेश गरी पुनः स्थापनको प्याकेजमा समेटनेलाई यस पटकको चुनावमा मतदान गर्ने सोच उनको रहेको छ । बसन्ती जस्तै शंकर दमाईको अबस्था दयनीय छ । सीमा क्षेत्र नजिकै बस्दै आएका दमाईले हलियाबाट मुक्त भएपछि परिवार पाल्नकै लागि निकै सास्ती खेप्नु परेको बताए ।

‘रोजगारी छैन’ उनले भने, ‘भारतमै कुल्ली र दरवान बनेर कार्य गर्नु परेको छ, भारतमै कमाएको पैशाले परिवारको खर्च चल्ने गरेको छ, स्वदेशमै रोजगारीको व्यवस्था गर्न सघाउने उम्मेदवारको खोजीमा छौं, अहिले सम्म भेटिएका छैनन्।’

‘मुक्तिको घोषणा हुनु भन्दा अघि मालिकको घरमा पेटभर खाना पाउथ्यौं, जस्तो भएपनि वर्षमा एक पटक लुगा फेर्न पाउथ्यौ’ बन्टी सार्कीले भने, ‘मुक्तिको घोषणा पछि स्वतन्त्र भएपनि जीविका चलाउनका लागि निकै संघर्ष गर्नु परेको छ, रोजगारी छैन,आर्थिक अभावले छोराछोरीलाई उच्च शिक्षा पढाउन पाएका छैनौं, आधारभूत तहका कक्षा पुरा गरेपछि आफु संगै मजदुरीका लागि लैजानु पर्ने अबस्था छ।’

पुनःस्थापन प्याकेजमा नसमेटिदा धेरै मुक्त हलिया परिवारको अबस्था दयनीय रहेको कालुराम सार्कीले बताए।

‘म जस्तै सामुदायिक वन र नदी किनारामा झोपडी बनाएर धेरै मुक्त हलिया परिवार पुनःस्थापनको पखाईमा छन’ उनले भने, ‘वर्षौ देखि जातीय छुवाछुत संगै गरिविमा पिल्सीदै आएपनि कसैले अहिलेसम्म हेरेका छैनन्।’

कागजी रुपमा छुवाछुत अन्त्य भएपनि व्यहारमा यथावत रहेकाले त्यसको अन्त्य गर्न नीतिगत व्यवस्था गर्ने र मुक्त हलिया परिवारको सहज जीविनयापन गर्न पहुँच अभिबृद्धि गर्ने हैषियत राख्ने उम्मेदवारलाई मतदान गर्ने उनको भनाई रहेको छ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहार समय सापेक्ष रुपमा पुनःस्थापन प्याकेज ल्याएर लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारलाई पुनःस्थापन गर्नुपर्ने बताउँछन्।

‘बर्षौ देखि मुक्त हलियालाई भोट बैंकका रुपमा प्रयोग गरियो’ उनले भने, ‘न्यायोचित रुपमा पुनः स्थापनको कार्य गरिएको छैन, घर बनाउन मुश्किल हुने थोरै जग्गामा पुनः स्थापन गरिएको छ, यस कार्यलाई समय सापेक्ष बनाईनु पर्छ, घर निर्माण गरेर मात्रै पुग्दैन, शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गरिनु पर्छ।’

‘चुनावी नारामा मात्रै मुक्त हलियालाई समेटिए त्यो अब स्वीकार्य हुदैन, विद्यालय व्यवस्थापन समिति, वन उपभोक्ता समिति, रोजगारीका क्षेत्र संगै राजनीति लगायतको निर्णायक तहमा मुक्त हलियाको समावेशी, समानुपातीक रुपमा अर्थपूण रुपमा सहभागीता हुनु पर्छ, यि कुराहरुको ग्यारेण्टी गर्नका लागि प्रतिवद्धता गर्ने उम्मेदवारलाईनै चयन गछौं’ उनले भने।

कञ्चनपुरमा लगतमा समावेश भएका दुई हजार पाँच सय १६ जना मध्ये एक हजार नौ सय ९१ जनाले परिचय पत्र पाएका छन। हाल सम्म एक हजार आठ सय ३० परिवार पुनः स्थापन भएका छन। लगत कट्टी गएिकाको सङख्या पाँच सय २५ रहेको छ। अझै पुनः स्थापन हुन बाँकी १६१ परिवार रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार