२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

बदलियो व्यवस्था, बदलिएन सार्की समुदायको अवस्था

प्रकाशित:

राजेन्द्र पनेरु ।
कञ्चनपुर । पूर्व पश्चिम राजमार्ग छेउको कञ्चनपुरको झलारी बजारमा धनबहादुर सार्कीले जुत्ता सिउँदै आएको दुई दशकभन्दा बढी भैसकेको छ। पुस्तान्तरण हुँदै आएको जुत्ता सिउने पेशाले सार्कीको परिवारको खर्च धानिँदै आएको छ।

उनका छोराले पनि बुवाजस्तै सडक छेउमै बसेर जुत्ता सिउँदै आएका छन्। धेरै लगानी गर्न नसक्दा सामान थप्न सकेका छैनन्। ‘छाला प्रशोधन गर्ने साधन नहुँदा जुत्ता बनाउन गर्न सकेको छैन‚’ उनले भने, ‘पुराना जुत्ता चप्पल सिउने काम गरेर जीविका चलाउनु परेको छ।’

दिनभरि जुत्ता चप्पल सिएर मुश्किलले २ सय रूपैयाँ जति कमाई हुन्छ। कमाई नभएको दिन रित्तोहात घर फर्कनुपर्ने बाध्यता उनको छ।

‘पहाडमा हुँदा हाम्रा बुवा बाजेले जुत्ता बनाउने गर्नु हुन्थ्यो, आफैँ छाला प्रशोधन गर्थ्यौं‚’ उनले भने, ‘जुत्ता तयार गरी बेच्थ्यौं, ती जुत्ताको माग धेरै हुन्थ्यो ।’

उनका अनुसार त्यस वेला जुत्ता नगदसँगै अन्न पनि लिने गरिन्थ्यो। सहज जीविकोपार्जनको खोजीमा तराई झरेसँगै जुत्ता बनाउने पुरानो पेशा ओझेलमा परेको उनले बताए। वर्षौंदेखि सडकछेउमा बसेर जुत्ता सिउँदै आए पनि कुनै निकायले सहयोग नगरेको रमेश सार्कीले बताए।

‘चुनाव आएको छ‚’ उनले भने, ‘उम्मेदवारहरू मत माग्न घरमा पुग्न थालेका छन्, मत माग्ने उम्मेदवारसँग उचित बस्ने ठाउँको व्यवस्था, परम्परागत सीपलाई आधुनिक बनाई उद्योग स्थापनाका लागि पहल गरिदिन माग गरेका छौं।’

‘विगतमा पनि यो माग अघि सारेका थियौं, प्रतिबद्धता धेरैले गरे तर सार्की समुदायको जीवनस्तर उकास्न कुनै योजना ल्याइएन। अवस्था पुरानै छ‚’ उनले भने।

‘प्रतिबद्धता गरेर मात्रै हुँदैन, हाम्रो अवस्था सुधार्ने, रोजगारी सृजना गर्न सघाउने उम्मेदवारलाई मतदान गर्छौं‚’ धर्मे सार्कीले भने, ‘यसका लागि सार्की समुदाय एकजुट भएर मतदान गर्छौं।‘ प्रलोभन दिने काम विगत जस्तै हुन थालेको उल्लेख गर्दै उनले रकम दिएर मत माग्नेलाई मतदान नगर्ने बताए।

’पहिलाभन्दा सचेत छौं‚‘ उनले भने, ’यसपटक क्षमता, योग्यता, काम गर्न सक्ने उम्मेदवारको आँकलन गरेर मात्रै मतदान गर्ने सार्की समुदायको तयारी छ।‘

परम्परागत रुपमा जुत्ता बनाउने सार्की समुदायले छाला अभावमा पेशा नै छाड्नुपर्ने अवस्था आएको उनले बताए। ‘बुवाको आधा दिनसम्म जुत्ता बनाउने काम चल्दै आएको थियो‚’ कमले सार्कीले भने‚ ‘वन क्षेत्रमा चित्तल, जरायो, घोरल लगायतको शिकार खेल्न बन्देज गरिएसँगै छाला पाउन सकेनौं।’

​विस्तारै पेशा छाड्नु पर्‍यो। ‘पहाडमा परम्परागत पेशाले जीविका चलाउन नसकेपछि परिवार पाल्नकै लागि तराई झर्‍यौं। बास बस्नका लागि थोरै जग्गा पाउन सके पनि जीविका चलाउन अझै पुरानै पेशामै खुम्चिनु परेको छ‚’ उनले भने।

थोरै परिवारले छालाको जोहो गरी परम्परागत पेशा जीवित राख्दै आए पनि जुत्ता बनाउने कम्पनी चलेपछि उनीहरू परम्परागत पेशाबाटै पलायन हुने अवस्थमा पुगेका छन्।

‘आधुनिक तरिकाले जुत्ता बनाउने तालिम पाइँदैन, बैंकमा गए कर्जा पाइँदैन, न्यून आयश्रोत र जग्गा लगायत सम्पत्ति केही नभएपछि बैंक मात्रै हैन छिमेकीले समेत कर्जा दिन पत्याउँदैन‚’ पदम सार्कीले भने, ‘यस्तो अवस्थामा पुरानै पेशा कसरी बचाउन सकिन्छ र१’

बिना ब्याज, बिना धितो कर्जा दिने व्यवस्था गरी पुर्खौंदेखि चल्दै आएको पेशालाई आधुनिक बनाउन प्रतिबद्धता गर्ने उम्मेदवारलाई मतदान गर्ने उनको भनाई रहेको छ।

देशमा व्यवस्था बदलिए पनि पञ्चायतकालमा जस्तो अवस्था थियो‚ अहिले लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि सार्की समुदायको जीवन स्तरमा परिर्वतन आउन सकेको छैन।

‘देशमा राजनीतिक परिवर्तन आएपछि विगतको कष्टकर जीवनमा परिवर्तन आउला भनेर सोचेका थियौं‚’ गगने सार्कीले भने, ‘केही परिवर्तन आएन, गरिबीमा पिल्सिँदा जान थालेका छौं, ऋणमा डुब्न थालेका छौं।’

झलारी बजारछेउ संँगै सार्की समुदायले महेन्द्रनगर, दैजी, बेलौरी, कृष्णपुर लगायतका क्षेत्रमा जुआा सिउने काम गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार