
पुनर्वास १६भदौ २०८३। कञ्चनपुरको पुनर्वास नगरपालिकाका सूचना अधिकारी तथा अधिकृत कृष्ण भट्टको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरमा उजुरी परेको छ। ज्येष्ठ नागरिक तथा बाल उद्यान व्यवस्थापनका क्रममा अनियमितता भएको आशंका व्यक्त गर्दै भट्टविरुद्ध उजुरी परेको हो।

उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले सूचना अधिकारी भट्टसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ। आयोगले बिल–भर्पाई, भौचरलगायत खर्च तथा व्यवस्थापनसँग सम्बन्धित आवश्यक कागजात १५ दिनभित्र पेश गर्न समयसीमा तोकेको जनाइएको छ।

ज्येष्ठ नागरिक तथा बाल उद्यानको व्यवस्थापन तथा सञ्चालनका क्रममा भएका खर्च, खर्च गर्ने प्रक्रिया तथा त्यससँग सम्बन्धित कागजातका विषयमा प्रश्न उठाउँदै उजुरी परेको बताइएको छ। उजुरीमा उठाइएका विषयमा आवश्यक छानबिन तथा अनुसन्धान अघि बढाउन आयोगले सम्बन्धित कागजात मागेको हो।

तर, अख्तियारले कागजात माग्दैमा सम्बन्धित व्यक्ति वा निकायले अनियमितता गरेको प्रमाणित हुँदैन। उजुरीमा उल्लेखित आरोप तथा विषयवस्तुमाथि आवश्यक कागजात, प्रमाण र तथ्यको अध्ययन तथा अनुसन्धानपछि मात्रै अनियमितता भए–नभएको सम्बन्धमा आयोगले निष्कर्ष निकाल्नेछ।


