सशस्त्रको गुल्मभित्र पसेर कैलालीमा डीएसपीमाथि हातपात

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा गुल्मभित्र पसेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरिएको छ । जिल्लाको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा बुधबार भिड पसेको हो ।

सो क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको छ । डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेको बताइएको छ ।

स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो । छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् ।

घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेलबाहेक सिंगो टोलीलाई जिल्ला तान्ने निर्णय भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली नयाँ पठाउन लागिएको जनाएको छ ।

डीएसपीमाथि हातपात हुँदासमेत नियन्त्रणमा कमजोरी भएको भन्दै ३१ जनालाई जिल्ला तानिएको बताइएको छ । घटनाको छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार