कञ्चनपुरमा ५०१ सदस्यीय प्रचारप्रसार समिति बनाउँदै कांग्रेसले बढायो चुनावी गतिविधि, उपसभापति सिंह संयोजक

प्रकाशित:

कञ्चनपुर। नेपाली कांग्रेस कञ्चनपुरले संगठनिक गतिविधि तथा प्रचारप्रसारलाई तीव्र बनाउने निर्णय गरेको छ। बिहीबार जिल्ला पार्टी कार्यालय महेन्द्रनगरमा बसेको बैठकले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संगठनिक तथा प्रचारप्रसारका गतिविधिलाई पढाउने निर्णय गरेको हो।
कांग्रेसले ५ सय १ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने, माघ १५ गतेभित्र जिल्लाका सम्पूर्ण वडामा सम्पर्क कार्यालय स्थापना गर्ने तथा वडा समितिको बैठकमार्फत मतदातालाई कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्ने निर्णय गरेको छ।

जिल्ला उपसभापति मीनबहादुर सिंहको संयोजकत्वमा प्रचारप्रसार समिति र जिल्ला सचिव भीमराज भट्टको संयोजकत्वमा सचिवालय स्थापना गर्ने निर्णय गरेको छ। बैठकमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरू, जिल्ला कार्यसमिति, क्षेत्रीय सभापतिहरू लगायतको सहभागिता रहेको थियो।

बैठकका निर्णयबारे जानकारी दिँदै जिल्ला सचिव भट्टले संगठनलाई वडास्तरसम्म सक्रिय बनाउँदै चुनावी अभियान सशक्त रूपमा अघि बढाइने बताए।

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा गोपी उपाध्याय, क्षेत्र नम्बर २ मा एनपी साउद र क्षेत्र नम्बर ३ मा हरी बोहरा उम्मेदवार रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार