युवतीको मृत्युपछि कृष्णपुरमा छाउगोठ भत्काउन नगरपालिकाको अल्टिमेटम

प्रकाशित:

कञ्चनपुर । सुदूरपश्चिममा अझै पनि ‘छाउपडी’ प्रथा अन्त्य हुन नसक्दा ज्यान जाने घटना दोहोरिन थालेका छन्। कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीका बेला छाउगोठमा सर्पले डसेर मृत्यु भएपछि नगरपालिकाले कडा कदम चालेको छ।

नगरपालिकाले वडा कार्यालयहरूलाई १५ दिनभित्र सबै छाउपडी गोठ भत्काउन निर्देशन दिएको छ। कार्यान्वयन नगरे कानुनी कारबाहीसँगै १० हजार रुपैयाँसम्म जरिवाना हुने चेतावनीसमेत दिइएको छ।

नेपालको सुदूरपश्चिममा महिलालाई रजस्वला र सुत्केरी अवस्थामा पनि ‘अशुद्ध’ भन्दै घरबाहिर गोठमा राख्ने चलन अझै जिउँदो छ। यस्तो अमानवीय प्रथाविरुद्ध मुलुकी अपराध संहिता २०७४ ले समेत कडा व्यवस्था गरेको छ। उक्त ऐनअनुसार महिलालाई छाउगोठमा राखेमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।

स्थानीय तहले कानुनलाई बल पुर्‍याउँदै छाउपडी गोठ उन्मूलन गर्ने प्रयास थाले पनि समाजमा जरो गाडेको यो परम्परा हटाउन अझै चुनौती बाँकी नै देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार