महेन्द्रनगरः डडेल्धुरामा । पछिल्ला वर्षमा घरेलु तथा साना उद्योग दर्ता बढेपनि नवीकरण गर्नेको सङ्ख्या भने घट्दो क्रममा छ । डडेल्धुरामा हालसम्म चार हजार ७८४ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तर चालु आर्थिक वर्षको हालसम्म ६९० उद्योग मात्रै नवीकरण भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयले मङ्गलबार गरेको वार्षिक समीक्षा तथा बैंकिङ सेवासम्बन्धी सरोकारवाला एवम् उद्यमी व्यवसायीहरु बिच भएको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म उद्योग तर्फ २५२ र वाणिज्यतर्फ ४३८ फर्म मात्रै नवीकरण भएको जानकारी दिए ।

उनका अनुसार यस वर्ष १५५ वटा उद्योग दर्ता भएका थिए । यसै वर्ष ७८ वटा उद्योग खारेजी भएको उनले बताए । डडेल्धुरामा कृषि र पशुपन्क्षी पालनका फर्म बढी दर्ता हुने गरेका छन् । कार्यालय प्रमुख भण्डारीले भने, ‘‘अनुदानका लागि फर्म दर्ता अनिवार्य भएका कारण दर्ता गर्नेक्रम बढेको छ । तर अनुदान नपाएपछि नवीकरण नगर्ने क्रम पनि बढेको छ ।’’

कार्यालय प्रमुख भण्डारीले हाल जिल्ला सदरमुकाममा मझौला उद्योगहरु सञ्चालनमा रहेको जानकारी दिँदै यी उद्योगहरुलाई समेत अनुदानमा सहयोग गरेको बताए । भट्मासको तेल र सोविन बनाउने फारवेष्ट एग्रो जाईन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसँगै उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई सहयोग गरेको उनले बताए।
पूजीगततर्फ कुल ६४ लाख २५ हजार रकम विनियोजन भएकोमा १०५ जनालाई शिप तालिम, ११ वटा उद्योगलाई प्रविधि हस्तान्तरण गरिएको उनले बताए । १३ लाख रकमको शिप तालिम र २० लाख रकमको प्रविधि हस्तान्तरण गरिएको उनले जानकारी दिए । यसकासाथै कारागारका कैदीबन्दिलाई बुनाई तालिम, उखु प्रवर्धनलागयतका कार्यक्रमहरु सञ्चालन गरेको उनको भनाइ थियो ।