मौसममा फेरबदल वर्षा हुने संभावना

प्रकाशित:

काठमाडौँ । ठुलो विपत्तिपछि केही दिन खुला रहेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदलीको प्रक्रिया सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी क्षेत्रमा बादलले ढाकिसकेको छ, जसको प्रभाव मधेस, बागमती र गण्डकी प्रदेशमा पनि देखिनेसमेत भएको छ।

मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिँदै बताइन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने संभावना छ। विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुनेछ, जसले मधेस, बागमती र गण्डकीमा पनि असर गर्नेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा भने वर्षा कम हुने अपेक्षा छ।” यो मौसमको असर भोलि र पर्सीसम्म रहन सक्ने अनुमान गरिएको छ, तर ठुलो र लगातारको वर्षा नहुने उनले स्पष्ट पारेकी छन्।

पछिल्लो वर्षाले देशका सबै भूभाग गलेका कारण थोरै पानी परे पनि बाढी र पहिरोको सम्भावना रहेको छ। वर्तमानमा देशभर मनसुनी वायुको प्रभाव कायम छ।

भारतको मध्य प्रदेश र वरपरको क्षेत्रबाट आएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसमविद् मानन्धरले उल्लेख गरिन्। आज राति कोशीसहितका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ र हल्कादेखि मध्यम वर्षा हुने अपेक्षा गरिएको छ।

असोज १६ र १७ गते पनि यस्तै मौसमको अवस्था रहने विभागले जानकारी दिएको छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार