काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन कुन विषय संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताएका छन् ।
राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने सैद्धान्तिक सहमति भएको उनले बताए ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै निजी र दलगत स्वार्थलाई केन्द्रमा राख्ने, ४ सिट भएका दलले पनि मुख्यमन्त्री दाबी गर्ने अवस्भाविक खेलहरु भएको बताए ।
तर एमाले र कांग्रेसबीच भएको सहमतिबारे भ्रम फैलाइएको उनले बताए । संविधानप्रति ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने प्रयास स्वीकार्य नभएको भन्दै उनले भने, ‘संविधानको समयानुकुल परिमार्जित हुँदै जानुपर्छ । त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौं ।’
यद्यपि कुन कुन बुँदामा संशोधन गर्ने भन्ने छलफल भइनसकेको बताए । केके सुधार गर्ने भन्ने अनुभवनका आधारमा तय गर्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो–यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौं, कसैको नेतृत्वमा आयोग बन्ने पनि भएको छैन ।’