नयाँ सरकार निर्माणमा प्रदेश प्रमुखले संविधान विपरीत काम गरेको कांग्रेसको निष्कर्ष

प्रकाशित:

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले गण्डकी र सुदूरपश्चिम प्रदेशमा संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको बताए ।

‘प्रदेश प्रमुखले संवैधानिक व्यवस्था विपरीत काम गरिरहेका छन् । अदालतको मानहानि गरिरहेका छन् । यस विषयमा प्रदेशका साथीहरूले बिफ्रिङ गर्नुभएको थियो,’ उनले भने, ‘त्यसको प्रतिवाद गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ ।’ सभामुखलाई गणना गरी एमालेका खगराज अधिकारीले दाबी पेस गर्दा गण्डकी प्रदेशमा प्रदेश प्रमुख शीवराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ । यही बिचमा प्रदेश प्रमुख भट्टले वैशाख ७ गते प्रदेशसभाको बैठक आह्वान गरेकोमा कांग्रेसले आपत्ति जनाएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले बहुमतसहित दाबी पेस गर्दा पनि प्रदेश प्रमुख नजिर मियाँले अस्वीकार गरेर असंवैधानिक काम गरेको महतले बताए ।

प्रदेशमा भइरहेको असंवैधानिक कामबारे कानुनविद् गोपालकृष्ण घिमिरे, सिताराम केसी र खम्मबहादुर खाती लगायत छलफल गरेको महतले बताए ।

देउवाले बैठकमा बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटबारे छलफलमा जानकारी गराएका थिए ।

नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो दलको मुख्यमन्त्री बन्ने परिस्थिति बनेको भन्दै सहयोग मागेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार