नागरिक उन्मुक्तिभित्र विवाद, अध्यक्ष रञ्जिताको इच्छा विपरीत मन्त्री 

प्रकाशित:

महेन्द्रागर । नागरिक उन्मुक्ति पार्टीभित्र भित्रभित्रै विवाद उत्पन्न भएको छ।अध्यक्ष रञ्जिता श्रेष्ठको इच्छा विपरीत सुदूरपश्चिम सरकारमा सहभागि हुँदै मन्त्री खान पुगेकाहरुलाई तत्काल फिर्ता आउन अध्यक्ष श्रेष्ठले निर्देशन नै दिनु परेको छ। यति गर्दा पनि फिर्ता नभए कारबाही नै गर्ने पार्टीले चेतावनी दिएको छ। मन्त्री बनेकाहरु भने पार्टी संरक्षक रेशमलाल चौधरीको इशारामा प्रदेश सरकारमा सहभागि भएको समेत खुल्न आएको छ।

रेशम निकटका सांसद मात्र मन्त्री बनेको भन्दै अर्को पक्ष असन्तुष्ट बनेको छ। उसो त रञ्जिता र रेशम श्रीमान÷श्रीमती हुन्। केहि समयअघि पार्टी अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि रञ्जिता नै अध्यक्षको हैसियतमा देखिकी हुन्। यसको विरुद्ध रेशम अदालत जाने बताइसकेका छन्। यस कारण पनि पार्टी दुई भागमा विभाजन हुने संभावना पनि बढेर गएको कतिपयको आंकलन छ।

यसै बिचमा सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन अध्यक्ष रञ्जिताले निर्देशन दिइसकेकी छन्। पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन्। मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी नै दिएकी छन्।

शुक्रबार राति मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए। जब कि श्रेष्ठले शुक्रबार नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीकै सल्लाहमा सरकारमा सहभागि भएको दाबी गर्दै आएका छन्।अहिले सरकारमा गएका दलका नेतासहित प्रदेश सभा सदस्य पार्टीका संरक्षक चौधरी निकट मानिन्छन्। चौधरीलाई निर्वाचन आयोगले अध्यक्षमा निरन्तरता नदिएपछि श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई पार्टी सञ्चालन गर्ने अधिकार मिलेको हो। रेशमको जोडबलमा सरकारमा गएका प्रदेश सभा सदस्यहरुलाई पार्टी अध्यक्षले फिर्ता हुन निर्देशन दिएपछि उनीहरु नैतिक संकटमा छन्।

माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नागरिक उन्मुक्तिसहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका थिए। राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्तिको भूमिका स्पष्ट नभएको बताएपछि शाहले मन्त्री थपेका थिए। उन्मुक्तिका रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बनेका थिए।

अहिले नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र किचलो सुरु भएको छ। तत्काल सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा केन्द्रमा छलफल चलिरहेकै बेला प्रदेशमा मन्त्रीले शपथ ग्रहण गरेपछि पार्टीभित्र विवाद सुरु भएको हो। साथै आफ्नै पार्टीका राज्यमन्त्रीलाई विनाजानकारी हटाएर अर्का सांसदलाई राज्यमन्त्रीको शपथ ग्रहण गराएपछि पार्टीभित्र किचलो सुरु भएको हो।

 

 

 

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार