होटेल सञ्चालक महिलाबिच लफडा, २ लाख माग्दै वडाध्यक्ष

प्रकाशित:

धनगढी । कैलालीको चिसानपानीका दुई होटेल सञ्चालकको झगडामा वडाध्यक्ष २ लाख पचाउने दाउमा रहेको आरोप लागेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले २ लाख रुपैयाँ लिन खोजेको आरोप लागेको हो। चिसापानीमा होटेल सञ्चालन गर्दै आएका न्यू दिपेश होटलका सञ्चालक नवराज चापागाई र जि एन्ड टी गुरुङ होटल एण्ड लजका सञ्चालक प्रेम गुरुङको बिचमा गत साउन ६ गते भनाभन भएको हो। बिहान ११ बजेतिर होटल अगाडीको सडकमा चापागाईले माछा बिक्री गर्दै थिए।

होटेल अगाडीका सवारीमा चापागाईले माछा बिक्री गर्न थालेपछि गुरुङ रिसाएका थिए। चापागाई र गुरुङको बिचमा सुरु भएको भनाभनमा महिलाहरु समेत जोडिन पुगेका थिए। गुरुङकी श्रीमती खगिसरा र नवराजकी दिदी उमा चापागाईको बिचमा हात हालाहालसमेत भएको विषय बाहिर आएको छ। होटेल सञ्चालकसमेत रहेका महिलाहरूको बिचमा कपाल तानातान भएको हो। उनीहरूको बिचमा भएको झगडा प्रहरीमा समेत पुगेको थियो।

चिसापानी प्रहरीले गुरुङकी श्रीमतीको उपचारका लागि लम्की पठाएको थियो। उनको कानमा रहेको सुन लुछिएको थियो। कानबाट रगत आयो। चापागाईको परिवार पनि उपचार गर्न तयार थियो। तर, लम्कीमा उपचारका लागि आएका गुरुङ र चापागाई परिवारको झगडामा वडाध्यक्ष लवबहादुर शाही जोडिन पुगेका छन्। वडाध्यक्ष शाहीले चापागाईका दिदी–भाइलाई प्रहरीको थुनाकक्षमा राख्न लगाएको आरोप समेत छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय, लम्कीको थुना कक्षमा २ घण्टा थुनिएको थियो।

वडाध्यक्ष र प्रहरी कर्मचारीहरूले गुरुङको हातमा सुनका बाला र घाँटीमा समेत तिलहरी रहेको दाबी गर्दै आएका छन्। चापागाईका परिवारले कानबाट लुछिएको सुन गुरुङ परिवारलाई बुझाएको दाबी छ। तर, वडाध्यक्षको आग्रहमा प्रहरीले २ लाख रुपैयाँ दिएमात्र मिलापत्र गर्ने भए। वडाध्यक्षले आफ्नो नाममा २ लाखको चेक चापागाईबाट लिएको समेत खुलेको छ। चापागाईको बैँक खातामा रकम थिएन।

रकम नभएपनि ६ महिनासम्म २ लाख जम्मा गर्न वडाध्यक्ष शाहीले भनेका थिए। उनीहरूको बिचमा भएको झगडाको ६ महिना पुगेपछि चिसापानी क्षेत्रमा फेरि लफडा सुरु भएको छ। चापागाई परिवारले २ लाख रुपैयाँ वडाध्यक्ष शाहीलाई नदिएपछि झगडा फेरि प्रहरीमा पुगेको छ। चिसापानी प्रहरीमा शनिवार यो विषयमा छलफल नै भएको छ। वडाध्यक्षले गुरुङको नहराएको सुनसमेत हराएको भन्दै २ लाख पचाउन खोजेको चापागाई परिवारको आरोप छ।

नवराजले भने, ‘चिसापानी प्रहरीमा मैले सुरुमा खबर गरेको हो। तर, उहाँहरुले उजुरी दिनुभयो। वडाध्यक्षलाई पनि मैले बोलाएको हो। तर, प्रहरीमा एक लाख ५० हजार सुन र ५० हजार औषधि उपचारको तिर्न भन्नुभयो। मेरो पछाडि–पछाडि चिसापानी आउनुभयो। आफ्नो नाममा २ लाखको चेक लिनुभएको छ।

मसँगै पैसा छैन। कसरी २ लाख तिर्नुरु’ लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लवबहादुर शाहीले चापागाईको परिवार र गुरुङको परिवारको बिचको झगडा लम्की प्रहरीमा मिलापत्र भएको बताए। उनले २ लाख उपचार खर्च र सुनको चापागाई परिवारले तिर्ने सहमति अनुसार रकम मागेको बताए। उनले भने, ‘झगडाको क्रममा सुनको बाला हराएको हो। सुनको बाला र उपचार खर्च दिने प्रहरीमा कागज भएको छ। हामीले जबरजस्ती गरेको होइन। उहाँहरुको बिचमा सहमति भएको हो। मेरो नाममा चेक काटेकाले मैले पैसा मागेको हो। मेरो लागि होइन।’

ताजा समाचार

सम्बन्धित समाचार