
कञ्चनपुर, पुनर्वास नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा न्यायिक समितिमार्फत प्रवाह गरिएका सेवा–सुविधा, सुशासन, न्यायिक गतिविधिको प्रभावकारिता, सामाजिक उत्तरदायित्व, जवाफदेहिता तथा पारदर्शितासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

पुनर्वास नगरपालिका–५ स्थित सभाहलमा आयोजित कार्यक्रममा न्यायिक समितिकी संयोजक तथा उपप्रमुख भूलिया कुमारी रानाले आर्थिक वर्षभरि न्यायिक समितिले सम्पादन गरेका कार्य, सेवा प्रवाहको अवस्था तथा न्याय सम्पादन प्रक्रियाबारे जानकारी दिनुभयो। उहाँले न्यायिक समितिलाई नागरिकमैत्री, प्रभावकारी र पारदर्शी बनाउन नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा स्थानीय नागरिकहरूले सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, सुझाव तथा गुनासा राख्दै न्यायिक सेवालाई अझ छिटो, प्रभावकारी र जनउत्तरदायी बनाउन आग्रह गरेका थिए। उनीहरूले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने धारणा व्यक्त गरे।

सार्वजनिक सुनुवाइमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय नागरिक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय सरकारप्रतिको नागरिक विश्वास अभिवृद्धि गर्नुका साथै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको आयोजना पुनर्वास नगरपालिकाले गरेको थियो भने सहजीकरण नेपाल सृजनशील विकास तथा संरक्षण समाजले गरेको थियो।


