कञ्चनपुर उद्योग वाणिज्य संघको निर्वाचनमा सरिता भण्डारी एक्ली महिला उम्मेदवार

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समिति गठनका लागि हुने निर्वाचनमा सदस्य पदतर्फ सरिता भण्डारी एक मात्र महिला उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उभिएकी छन्। पुस १९ गते तय भएको निर्वाचनमा सदस्य पदका लागि कुल १३ जना उम्मेदवार रहेकामा भण्डारीको उम्मेदवारीले महिला सहभागिताको विषयलाई विशेष रूपमा उजागर गरेको छ।

सदस्य पदका लागि प्रारम्भमा दुई महिलाले उम्मेदवारी दर्ता गराएका थिए। तर पार्वती कुमारी विष्टले नाम फिर्ता लिएपछि भण्डारी एक्ली महिला उम्मेदवार बनेकी हुन्। निर्वाचनमार्फत १३ मध्येबाट ७ जना सदस्य चयन हुने व्यवस्था छ।

व्यवसायिक क्षेत्रका सबै मतदाताबाट सहयोग पाउने विश्वास व्यक्त गर्दै भण्डारीले संघभित्र महिलाको प्रतिनिधित्व अनिवार्य रहेको बताइन्। “बजारमा महिलाको सक्रिय सहभागिता बढ्दो छ, त्यसको प्रतिबिम्ब संघको नेतृत्वमा पनि देखिनुपर्छ,” उनले भनिन्।

महेन्द्रनगरको मदनचोकमा रहेको डालिमा सपिङ सञ्चालन गर्दै आएकी भण्डारी २०६५ सालदेखि व्यापार व्यवसायमा संलग्न छन्। यसअघि संघको मतदाता मात्र रहेकी उनी पहिलोपटक नेतृत्व तहको निर्वाचनमा सहभागी भएकी हुन्। पत्रकारिताबाट व्यवसायमा प्रवेश गरेकी भण्डारीका श्रीमान् तेजबहादुर सिंह नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष हुन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत व्यवसायी मतदातासँग मत र समर्थनको अपिल गरिरहेकी छन्। उनले व्यवसायीका अधिकार संरक्षण, संघको सुदृढीकरण तथा महिलाको भूमिका मजबुत बनाउने प्रतिबद्धता जनाएकी छन्।

यस निर्वाचनमा संघको कोषाध्यक्ष र सदस्य पदमा मात्र मतदान हुँदैछ। कोषाध्यक्ष पदका लागि प्रदीप पाल र सिद्धराज भट्टबीच प्रतिस्पर्धा रहेको छ। सदस्य पदतर्फ सरिता भण्डारीसहित लोकराज भट्ट, गोविन्द भट्ट, पारस जोशी, निरबज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिंह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्ट र जगदीश चन्द्र भट्ट उम्मेदवार रहेका छन्।

संघका अन्य पदाधिकारी भने यसअघि नै सर्वसम्मत रूपमा चयन भइसकेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार