वृद्ध आमाबुवासँग बीपीको सम्झना: नेपाली कांग्रेसको मानविय योगदान

प्रकाशित:

कञ्चनपुर । नेपाली कांग्रेसले ४३औं बी.पी. स्मृति दिवसको अवसरमा कञ्चनपुरको वेदकोटमा बृद्धाश्रमसम्म पुगेर सामाजिक सेवाको उदाहरणीय कार्य सम्पन्न गरेको छ।

प्रदेशसभा क्षेत्र नं. २ (क) का प्रदेश सभापति पुरन खड्का ‘झंकार’को सभापतित्वमा र सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्री बैजनाथधाम वृद्धाश्रम सेवा समिति वेदकोट–७, रौटेलामा रहेका २२ जना वृद्ध–वृद्धाहरूलाई खाद्यान्न सामग्री—चामल, दाल, तेल—हस्तान्तरण गरियो।

मन्त्री थापाले हस्तान्तरणपछि भने, “यी बुबाआमाहरूको आँखामा देखिएको स्नेह नै हाम्रो कामको प्रेरणा हो। सेवा गर्न पाउनु सौभाग्य हो।” उनले वृद्धाश्रमको सेवा विस्तारमा सरकारको तर्फबाट आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

सभापति खड्काले भने, “बी.पी. को समाजवादी सोच जनतासँगै बाँच्ने दर्शन हो। हाम्रो अभियान युवादेखि वृद्धसम्म, असहायदेखि निमुखासम्मको साथ लिएर अघि बढ्नेछ।” उनले देशभर कांग्रेसले स्मृति दिवसलाई सामाजिक सेवासँग जोडेर मनाइरहेको जानकारी पनि दिए।

कार्यक्रममा प्रदेश सचिव नवराज पन्त, कोषाध्यक्ष टिकेश्वरी पाण्डे ‘प्रेरणा’, बेदकोट नगर समितिका पदाधिकारीहरू र कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वृद्धाश्रमका संयोजक बहादुर विष्टले आश्रममा हाल १५ महिला र ७ पुरुष गरी २२ जना सेवा लिइरहेका बताए। “खानेपानीको अभाव, स्वास्थ्य सेवा नपुग… तर हिम्मत छ, मन छ — समाजको साथले अझ धेरै सेवाग्राही समेट्नेछौं,” विष्टले भावुक हुँदै भने। आश्रमको क्षमता ४० जनासम्म पुर्‍याउन सकिने जानकारी पनि उनले दिए।

यसै सन्दर्भमा नेपाली कांग्रेस बेदकोट नगर कार्यसमितिले वृद्धाश्रममा फलफूल वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार