कञ्चनपुर । सामाजिक दायित्व निर्वाह गर्दै सुदूरपश्चिम खबरले सुडा रेडक्रस उपशाखालाई पंखा हस्तान्तरण गरेको छ। आशिर्वाद मिडिया प्रा.लि. अन्तर्गत सञ्चालित सुदूरपश्चिम खबरद्वारा आयोजित एक कार्यक्रममा पंखा प्रदान गरिएको हो।

कार्यक्रममा सुदूरपश्चिम खबरका कार्यकारी प्रमुख प्रकाश भट्टले रेडक्रस उपशाखाका सभापति शंकर दत्त जोशीलाई पंखा हस्तान्तरण गर्दै यस सहयोगले उपशाखाको सेवा प्रवाहमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले सामाजिक जिम्मेवारीको अनुभूति गर्दै सुदूरपश्चिम खबरले विभिन्न सहयोगात्मक क्रियाकलापलाई निरन्तरता दिँदै आएको र भविष्यमा पनि कला, संस्कृति तथा सामाजिक सेवामा समर्पित रहन प्रतिबद्ध रहेको बताउनुभयो।

सभापति जोशीले पंखा प्रदान गरेकोमा सुदूरपश्चिम खबरप्रति आभार व्यक्त गर्दै स्वयंसेवक तथा सेवा लिने सबैलाई यो सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सुदूरपश्चिम खबरका सल्लाहकार प्रकाश कलौनी, रेडक्रस उपशाखाका सचिव प्रेमराज अर्याल, कोषाध्यक्ष टिकाराम बोहरा, उपसचिव टेकबहादुर चन्द, सामाजिक अभियन्ता नरेश भट्टलगायतको उपस्थिति रहेको थियो।
मनिषा भट्ट सञ्चालक, वीरेन्द्र कलौनी सम्पादक तथा हिरा भट्ट अतिथि सम्पादक रहेको आशिर्वाद मिडिया प्रा.लि.ले यसअघि वृद्धाश्रम तथा बालगृहमा पनि सहयोग पु¥याएको छ। सुदूरपश्चिमको कला, संस्कृति संरक्षणमा निरन्तर क्रियाशील मिडियाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व निर्वाहमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।


