महेन्द्रनगरः बैतडी जिल्लाको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना मावि र मेलौली नगरपालिका–७ को मणिलेक माविमा विद्यार्थीका लागि एनसिसी तालिम सुरु गरिएको हो।

सोमवारदेखि कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीका लागि जुनियर डिभिजनको राष्ट्रिय सेवा दल तालिम सुरु भएको श्री बक्स गुल्म बैतडीका गुल्मपति सेनानी सफल थापाले जानकारी दिए। उनका अनुसार दुवै विद्यालयबाट ३०–३० जना विद्यार्थी एनसिसी तालिममा छनोट गरिएको छ।

“एउटा विद्यालयबाट १५ छात्र र १५ छात्रालाई छनोट गरिएको छ”, उनले भने, “छनोट भएका विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिनेछ।” यसका साथै सैन्य, मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ।

एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमा सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा हुने सेनानी थापाले जानकारी दिए।
उनका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायत विषयमा जानकारी गराइने छ। यो तालिमपश्चात विद्यार्थीमा राष्ट्रप्रेम, नेतृत्व विकाससँगै उनीहरूको चौतर्फी विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ज्ञानेश्वर नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक पुष्पराज जोशीले बताए।रासस