महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ ।

विशेष गरी अस्पताल वा घरमा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्न उपयुक्त सुविधा नहुँदा मृतकका आफन्तहरूलाई तत्काल अन्तिम संस्कार गर्न बाध्य बनाउने स्थिति थियो ।

यसले न त भावनात्मक तयारीको समय दिँथ्यो, न त सम्मानजनक बिदाइको वातावरण यही समस्यालाई मध्यनजर गर्दै निःशुल्क रूपमा शव चिस्यान सेवा संचालन गरिएको नगरप्रमुख पदम बोगटीले बताए ।

‘शव चिस्यान सुविधा नभएकै कारण धेरै परिवारहरू हतारमा अन्तिम संस्कार गर्न बाध्य हुँदै आएका छन् । हामी चाहन्छौं, मृत्युको क्षण पनि मर्यादित होस् । विशेष गरी रोजगारी वा अन्य कारणले विदेशमा रहेका आफन्तहरू आउन केही दिन लाग्ने अवस्था हुन्छ । यस्तो बेला शव सुरक्षित राख्न सकिने वातावरण बन्नुपर्छ भन्ने महसुस गर्यौं ।’ उनले भने ‘ सोहि कुरालाई मध्यनजर गर्दै यो सेवा शुरु गरेका हौं ।’
उनका अनुसार यो सेवाका लागि सामान्य जानकारीसहित पालिकामा सम्पर्क गरेपछि तुरुन्तै सेवा उपलब्ध गराइनेछ ।
यस सेवाबाट विशेष गरी विपन्न, श्रमिक, वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा निम्नआय भएका परिवारहरू लाभान्वित हुनेछन् ।
शोकमा परेका परिवारलाई राहत दिनेसँगै, शव व्यवस्थापनको प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउनसमेत यसले सहयोग गर्ने अपेक्षा गरिएको छ ।