सुदूरपश्चिममा क्यान्सरका बिरामी खोज्दै चिकित्सक टोली

प्रकाशित:

धनगढी । सुदूरपश्चिम प्रदेशमा क्यान्सरको बिरामी खोज्न चिकित्सक टोली अग्रसर भएको छ ।

विभिन्न जिल्लामा शिविर राखेर टोलीले क्यान्सरको बिरामी पत्ता लगाउने कार्य थालेको हो । टोलीले शिविर सञ्चालन गरेर पाठेघर र स्तन क्यान्सरको बिरामी खोजी कार्य गरिरहेको छ ।

यो प्रदेशमा महिलामा देखा परिरहेको पाठेघर र स्तन क्यान्सरको विकराल समस्या दृष्टिगत गरेर मुख्यमन्त्री कमलबहादुर शाहले क्यान्सर अस्पताल भरतपुरलाई क्यान्सर परीक्षणका लागि आग्रह गर्नुभएको थियो । उहाँको आग्रहमा आएको चिकित्सकका टोलीले अछाम, डडेलधुराको केही पालिकामा परीक्षण गरिसकेको छ । यसै गरी टोलीले कैलालीको बर्दगोरिया गाउँपालिकामा स्वास्थ्य चेक जाँच गरिरहेको छ ।

यसैबिच परीक्षण गरेर फर्केको चिकित्सकको टोलीसँग भेटघाट गर्नुहुँदै मुख्यमन्त्री शाहले दुई जिल्लाको पाठेघर र स्तन क्यान्सरको अवस्थाबारे जानकारी लिनुभएको छ ।

अछाममा २६० को पाठेघर र ३५० को स्तन क्यान्सरको परीक्षण गर्दा पाँच जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सरको शङ्का लागेको डा।वर्षा प्रसाईंले बताउनुभयो । उहाँका अनुसार डडेलधुरामा १५० महिलाको पाठेघर र १७० जनाको स्तन क्यान्सरको परीक्षण गरिएको थियो । जसमध्ये २० जनामा पाठेघर र त्यत्ति नै जनामा स्तन क्यान्सरको आशङ्का गरिएको डा। प्रसाईंको भनाइ छ । क्यान्सरको शङ्का लागेका केसलाई टोलीले थप उपचारका लागि रेफर गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार