कृष्णपुर नगरपालिकामा सार्वजनिक पदमा रहेका सबैले छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने

प्रकाशित:

महेन्द्रनगर। कृष्णपुर नगरपालिकाले सार्वजनिक पदमा रहेका व्याक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरेको छ।

१६ औं नगरसभाले सार्वजनिक पदमा रहेकाले अनिवार्य आफ्ना बालबालिका सामुदायिक अध्ययन गराउनुपर्ने निर्णय गरेको हो।

जनप्रतिनिधिहरु, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, सदस्यहरु, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।

‘शैक्षिक सत्र २०८२ देखि जुनसुकै स्थानमा भएपनि सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई अध्ययन गर्ने व्यवस्था मिलाउन सबैलाई निर्देशन दिएका छौं,’ उनले भने। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आकर्षण बढाउन यस्तो निर्णय गरिएको उनको भनाई छ।

‘सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तर सुधार गर्ने हाम्रो उदेश्य हो,’ उनले भने, ‘सार्वजनिक पदमा रहेका व्याक्तिहरुले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा पढाउँदा अन्यको पनि आकर्षण बढ्छ।’

यसैगरी, कृष्णपुर नगरपालिकाले संस्थागत विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक र अन्य संलग्न व्याक्तिले सामुदायिक विद्यालयको कुनैपनि प्रशासनिक निकाय र व्यवस्थापकीय जिम्मेवारीमा रहन नपाउने व्यवस्था समेत गरेको छ। नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ।

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार