महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कर्मचारीहरुले सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न विधायन समतिबाट बनेको विधेयक– २०८१ हुबहु पास गर्नुपर्ने माग राख्दै आफु कार्यरत कार्यालय भीमदत्त नगरपालिकामा प्रदर्शन गरेका छन् ।

सोमबार नगरपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको ऐक्यबद्धतामा उनिहरुले प्रदर्शन एवं ध्यानाकर्षण गराएका छन् । उनिहरुले करारा कर्मचारीहरुलाई लोकसेवा आयोगबाट सिमित आन्तरिक प्रतिस्पर्धा गरेर छनौटको लागि माग गरेका छन् ।

कर्मचारीहरुले विधायन तथा प्रदेश मामिला समितिले लामो समय अध्ययन गरेर सभामुखलाई बुझाएको प्रतिवेदन हुबहु प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कार्यालयमा प्रदर्शन एवं भीमदत्त नगरपालिकाका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीलाई ध्यानाकर्ष पत्र बुझाइएको स्थानीय तह कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष नरेन्द्रदेव भट्टले बताए ।

सबै पक्षसँग छलफल गरेर तयार पारिएको विधेयक पास नहुँदै संशोधन गर्ने चलखेल भएको अध्यक्ष भट्टले बताए ।
पछिल्लो समय सुदूरपश्चिमका स्थानीय तहहरूका करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।
प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरु आन्दोलित भएका हुन् ।