महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं ३ पर्सिया बस्ने दिपराज राना ४ दिनदेखि वेपत्ता भएका छन्। आईतवार उनको विवाह तय भएको थियो, तर विवाहको दिनसम्म पनि दिपराज सम्पर्कमा नआएपछि परिवार चिन्तित बनेका छन।

उनका दाजु लोकराज रानाका अनुसार, माघ ३० गते बिहान ८ बजे दिपराज धनगढी गएका थिए र त्यहाँ विवाहको लागि कोट र पाइन्ट किनेका थिए। उनले आफ्नो बहिनीलाई सामान दिएर “मेरो काम छ, म जान्छु” भनेर हिँडेको र त्यसपछि सम्पर्कविहीन भएका छन्।

परिवारले नातेदार र चिनजानका मानिसहरूलाई खोजतलास गरिरहेका छन्, तर अझै उनीबारे केही थाहा नभएको बताइएको छ। परिवारले दिपराजलाई फेला पार्न सहयोगको अपील गरेका छन् र यदि कसैले कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्।
