कञ्चनपुर। कञ्चनपुरमा आफैमाथि गोली प्रहार गर्दा गम्भीर घाइते भएका प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ।
उपचारको क्रममा कैलालीको धनगढीस्थित निसर्ग अस्पतालमा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान विष्टले बुधबार साँझ डिउटीमा रहेका बेला आफैँले बोकेको एसएलआर राइफलबाट आफैंमाथि गोली प्रहार गरेका थिए।
उनी हातहतियार राखिने स्थान सेन्ट्री कोत गारदमा खटिएका थिए। दाहिने कानभन्दा माथि गोली लागेको थियो। गम्भीर घाइते उनलाई उपचारका लागि महाकाली अस्पताल हुँदै धनगढी लगिएको थियो।
बझाङको वित्थडचिर गाउँपालिका–६ का विष्ट ६ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए। उनको घरमा श्रीमती र दुई छोरी छन्। प्रहरी जवान विष्टले आफैमाथि गोली चलाउनुको कारण खुल्न सकेको छैन।