महाकाली नदीमा भारतीय जेसिबी र चालक पक्राउ

प्रकाशित:

दार्चुला। दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमतिबिना भारतीय जेसिबी नेपालतर्फ आएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले आइतबार पक्राउ गरेका छन् ।

दार्चुलावासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरेर आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ ।नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले एक्साभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारिपट्टि तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ ।भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत एक्साभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।

अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरेर कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय बताए  । केही दिनपहिले पनि भारतीयले नेपालीलाई ढुङ्गा हानेको स्थानीयको आरोप छ । गत वर्ष पनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरेर खलङ्गास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो ।

नेपालतर्फबाट स्थानीयले पटक पटक भारतीय दादागिरीको विरोध गरे पनि सरकारी पक्षको उदासीनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सतह घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठुलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो ।

“नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौँ,” स्थानीय सुन्दर धामीले भन्नुभयो, “भारतले भने महाकाली नदीको सिमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ ।”

२०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलावासीले महाकाली नदीको धारसमेत परिवर्तन गरेर नेपालतर्फको खलङ्गा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेका जेसिबीचालकलाई समेत कारबाहीको माग गरिएको छ ।

जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय एक्साभेटरचालकले प्रारम्भिक सोधपुछका क्रममा भुलवश (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयवासीले कडा कदम चाल्नुपर्ने माग गरेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार