कञ्चनपुर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस एक ढिक्का नभए देशको भविष्य अन्धकारमा फस्ने बताएका छन्।
शुक्रबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन।
‘उहाँ (शेरबहादुर) मेरो आदरणीय पार्टी सभापति पनि हो। दाइ समान नै मान्छु, उहाँलाई सम्मान नै गर्छुँ। महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धी भएर अगाडि आए यसलाई मैले अन्यथा लिएको पनि छैन,’ उनले भने, ‘नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि जान सकेन भने देश भविष्य अन्धकार देखिराखेको छुँ।’
कांग्रेस–एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको समेत उनले उल्लेख गरे।
उनले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिए।
‘यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सात बुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन’, नेता डा कोइरालाले भने ।
नेता कोइराला शुक्रबार कैलालीको धनगढी पुगेका हुन। उनलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए।