कञ्चनपुर। सुदूरपश्चिमका ५ स्थानमा हुने उपचुनावको सुरक्षा तयारी पूरा भएको प्रहरीले जनाएको छ। सुरक्षा योजना निर्माण गरेर सोहीअनुसार मतदानस्थलमा सुरक्षाकर्मी तैनाथ गरिएका छन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका, बझाङको सुर्मा गाउँपालिका–४, दार्चुलाको दुहुँ गाउँपालिका–५, डोटीको पूर्वीचौकी गाउँपालिका–६ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा उपचुनावअन्तर्गत आइतबार मतदान हुँदैछ।
उपचुनाव शान्ति रुपमा सम्पन्न गर्न सुरक्षाका लागि पहिलो घेरामा जनपद प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी खटिएको छ।
सुरक्षाका दृष्टिकोणले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका संवेदशीलताका रुपमा लिएको छ।
भौगोलिक रुपमा विकट हुनुका साथै विगतमा समेत चुनावताका घटनाहरु भइरहने हुनाले सो क्षेत्रमा बाँक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले सुरक्षा संवेदनशीलालाई मध्यनजर गरेर योजना बनाएर सुरक्षा व्यवस्था चुस्त पारिएको बताए।
‘उपचुनाव हुने ५ स्थानको अहिलेसम्म अवस्था सामान्य छ,’ उनले भने, ‘स्वामीकार्तिक सुरक्षा दृष्टिकोणले संवेदशील भएकाले हामीले त्यहाँ प्राथमिकता दिएर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेका छौँ।’
उनका अनुसार बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको लागि हुने मतदानको सुरक्षालाई मध्यनजर गरेर कैलालीको धनगढीबाट एसपी सरोज पौडेलको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाजुराका डिएसपी दिलिप कुमार गिरी र सशस्त्रका एक डीएसपीको नेतृत्वको टोली पनि स्वामीकार्तिक खापर केन्द्रीत बनेको छ।
स्वामीकार्तिक खापर गाउँपालिकाको प्रत्येक मतदानस्थमा प्रहरी निरीक्षकको नेतृत्वको ५० जना भन्दा सुरक्षाकर्मी तैनाथ छन्। यस्तै, सशस्त्र प्रहरी पनि खटिएका छन्।
प्रदेश निर्वाचन कार्याललयका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा ५ स्थल तोकिएका छन् भने ९ मतदान केन्द्र छन्।
यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। स्वामीकार्तिक खापरमा ७ हजार ४ सय ६० मतदाता छन्।