मध्यराति चक्कु बोकेर बिहेमा लफडा गर्न पुगेका बम कुटिए

प्रकाशित:

धनगढी । कैलालीमा एउटा विवाहका कुर्सी ताेडफाेड गर्दै लफडामा उत्रिएका दुई जना कुटिएका छन् ।

आइतबार बिहान २ बजेतिर बर्दगाेरिया गाउँपालिका- ६ का केशब नेपालीकाे छाेरी डम्मराकाे विवाहमा प्रवेश गरेर बिना कारण २४ वर्षीय सुशील बम लगायतले कुर्सी ताेडफाेड गरेकाे प्रहरीले जनाएको छ ।

साेही क्रममा स्थानीयले उनीहरूलाई लखेट्दै कुटपिट गरेका थिए । कुटपिटबाट बम र घाेडाघाेडी नगरपालिका -३ का २२ वर्षीय प्रमाेद परियार घाइते भएका छन् ।

बमलाई थप उपचारका लागि काेहलपुर पठाइएको छ । उनकाे साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए ।

उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा बर्दगाेरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल जाेशी र लम्कीचुहा नगरपालिका- १० बस्ने २२ वर्षीय दिनेश खत्री रहेकाे डीएसपी बाेहराले बताए ।

उनीहरूलाई नियन्त्रण राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार