अछाम। गते जेठ २७ गते पञ्चदेवल विनायक नगरपालिका –९ कालेकाँडास्थित अछाम र दैलेख जोड्ने कर्णाली पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे पर्यो। उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरे।
खाद्यान्न ढुवानी गर्न अछामको कालेकाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लठ्ठा चुँडिएको थियो । लठ्ठा चुँडिदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए।
पुलमा फसेको खच्चडको चार घण्टापछि उद्धार भएको थियो। खच्चड पुलमा अड्केको लामो समयसम्म पनि उद्धार हुन नसक्दा पुल कोल्टे परेको समाचार देशभर भाइरल भयो।
संसद्मा कुरा उठ्यो, सरोकारवालाले फिल्डमै प्राविधिक कर्मचारी पठाएर पुलको अवस्थाको अध्ययन पनि गरे। प्राविधिक टोलीको प्रतिवेदनले भन्यो, ‘पुल मर्मत गरेरमात्रै संचालन गर्न सक्ने अवस्था छैन, जीर्ण भएको छ, आवातजावत गर्न जोखिम छ, नयाँ निर्माण गर्नुपर्छ।’
तर अहिलेसम्म नयाँ पुल त बनेको छैन नै । बरू जीर्ण पुलबाटै सर्वसाधारणले वारिपारि गर्न बाध्य छन्। वैकल्पिक भनिएको पुलबाट आवतजावत गर्न करिब १ घण्टा बढी समय लाग्ने गरेका कारण स्थानीयले यही पुलको प्रयोग गरिरहेका छन्।
अछामतर्फ रहेको चण्डिका माविमा कक्षा–७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका –५ कि तुल्सी चौलागाईले भनिन्, ‘नयाँ बनेको पुलबाट स्कुल पुग्न करिब एक घण्टा लाग्छ। जीर्ण भएपनि यो पुलबाट जाँदा १० मिनेटमात्रै लाग्छ। नयाँ बनेको पुलबाट महिनावारी भएको समयमा जान मिल्दैन। पुलसँगै स्थानीयले मान्ने ठूलो देवताको मन्दिर छ।’
महिनावारी भएको समयमा कि त विद्यालय जान नै छोड्नुपर्ने कि जोखिम मोलेरै जीर्ण पुलबाट जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपैयाँ जरिवाना तिर्नपर्ने नियम रहेको अर्की छात्रा गीता सुनारले बताइन्।
‘स्कुल नजाँदा पढाइ त छुट्ने नै भयो । जरिवाना समेत तिर्नुपर्छ । महिनावारी हुँदा ठूलै देवताको मन्दिर भएको पुलबाट हिंडे अनिष्ट हुन्छ भन्ने डर हुन्छ,’ उनले भनिन् ,‘डरैडरले कोल्टे फर्केको जीर्ण पुलबाट आवातजावात गर्नु पर्ने हाम्रो बाध्यता छ ।’
पहिलेको तुलनामा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको चण्डिका माध्यमिक विद्यालयका लेखापाल गणेश कार्कीले बताए । ‘केही छात्राहरु जोखिम मोलेर विद्यालय आउने गर्छन् । अधिकांश छात्राहरु महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्,’ उनले भने ।
पञ्चदेवल विनायक नगरपालिका – ९ का वडाध्यक्ष रामप्रसाद जैशीका अनुसार नवनिर्मित पुलको दैलेखपट्टि नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन् । महिनावारी तथा गर्भवती समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मिक विश्वास छ ।
विद्यालयका छात्रा मात्र हैन, अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिलाहरु दैलेखको खिड्किज्यूला बजारमा सामान किन्न जाँदा लठ्ठा चुँडिएर जीर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । जसका कारण स्थानीयलाई जोखिम बढेको छ ।
कोल्टे फर्किएको झुलंगे पुलभन्दा टाढा एक किलोमिटरको दुरीमा भने अर्को पुल बनिरहेकै थियो । घटना भएको समयमा नै निर्माणको क्रममा रहेको पुल यसको विकल्पका लागि भने बनाउन लागिएको थिएन । कर्णाली राजमार्गसम्म पञ्चदेवल बिनायक नगरपालिका –९ ओल्ताडा गाउँका करिब २० घरधुरीको सहजताका लागि मात्रै उक्त पुल निर्माण भएको वडाअध्यक्ष जैशीले बताए ।
‘प्राविधिक टोलीले अध्ययन गरेर पुलमा आवातजावत नगर्नु, पुल जोखिममा छ भनिसकेपछि पनि यही पुलबाटै दैलख र अछामका स्थानीय वारपार गरिरहेका छन्, अहिले पुल बनाउने विषयमा पनि सरोकारवाला मौन भइसके,’ वडाध्यक्ष जैसीले भने, ‘अछाम र दैलेखका करिब ९ सय घरधुरीले अहिले एक घण्टा बढी समय लगाएर अर्को पुलबाट आवातजावत गर्नुपर्छ । अपायक परेकाले जीर्ण पुल प्रयोग भइरहेको छ ।’
पुल कोल्टे फर्केर खच्चड अड्किएको समयमा स्थानीय प्रशासनले पुल अवातजावतमा रोक लगाएपनि कार्यान्वयन हुन नसकेको उनले बताए । कर्णाली राजमार्गबाट अछामतिरका व्यवसायीहरुले सामान एक घण्टाभन्दा बढीको बाटोबाट बोकेर ल्याउनु पर्ने भएकाले महंगी पनि बढेको उनले बताए ।
‘१० मिनेट हिंडेर समान पुर्याउने ठाउँमा अहिले एक घण्टा हिंड्नुपर्छ । पसलेहरुको ढुवानी खर्च बढेकाले पहिलेको मुल्यभन्दा कम्तिमा ३० प्रतिशत मूल्य बढेको छ,’ उनले भने ,‘धेरै जनसंख्या, घरधुरी र आवातजावात गर्ने पुल प्रयोग गर्न नमिल्ने अवस्थामा रहदा धेरै असर परेको छ ।’
आगामी शैक्षिक सत्र भित्रसम्म पनि कोल्टे परेको पुल नबने दैलेखतिरका धेरै विद्यार्थी अन्य विद्यालय खोज्न सक्ने उनले बताए । ‘अर्को पुलबाट जानलाई उसै पनि एक घण्टा टाढाको बाटो हिंड्नुपर्छ । त्यो पुलमा महिनावारी भएको समयमा आवातजावत गर्न मिल्दैन भन्ने छ,’ वडाध्यक्ष जैशीले भने ,‘टाढा रहेको पुलबाट पनि हिंड्न नसक्ने र जोखिम मोलेर पुल तर्नुभन्दा दैलेखतिरका विद्यार्थी अन्य विकल्प खोज्ने अवस्था देखिन्छ । यसले विद्यालयलाई प्रत्यक्ष असर पार्दै छ ।’