काठमाण्डौ। नक्कली फेसबुक आईडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा तनहुँ आँबुखैरेनी गाउँपालिका-५ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने रुद्रबहादुर गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

रुद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आईडीहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाई ठगी गरेको आरोप छ ।

उनले आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाडौं र चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।