कांग्रेसले ढुंगानाको निधनमा शोक, २ दिन झण्डा आधा झुकाउने निर्णय

प्रकाशित:

काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा गहिरो दुःख व्यक्त गर्दै २ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

आज सोमबार केन्द्रीय समितिको आकस्मिक बैठकले ढुंगानाको निधनमा शोक प्रकट गर्दै मंसिर ३ र ४ गते (आज र भोली) पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो। साथै, मंसिर ४ गते पार्टीको केन्द्रीय कार्यालय बन्द राख्ने निर्णय पनि गरिएको छ।

ढुंगानाको निधनको १३ औं दिनमा शोक सभा गर्ने योजना समेत बनाइएको छ। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचार गरिरहेका ढुंगाना ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएका थिए।

नेपाली कांग्रेसले ढुंगानालाई उच्च सम्मानमा श्रद्धांजलि अर्पण गर्ने योजना बनाएको छ र नेपाल सरकारले पनि राजकीय सम्मानमा उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। ढुंगानाले नेपालको बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानव अधिकारको पक्षमा जीवनभर वकालत गरेका थिए र माओवादी सशस्त्र द्वन्द्वको अन्त्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्यहरूको संस्थागत गर्न पनि उनको योगदान महत्वपुर्ण थियो। २०४८ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य बनेका ढुंगाना पछि सभामुख पनि बनेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार